Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

काल भैरबमा १३ बर्ष विताएकी ९२ बर्षीय कान्छी तामाङको फेरिएको जीवन


कालभैरवमा मुक्ति खाेजिरहेकी कान्छी तामाङ
सागर चन्द/ फरक धार अनलाईन पत्रिका
काठमाडाैं/ दोलखाकी कान्छी तामाङ वसन्तपुर दरबार स्क्वायरको आँगनमै रहेको कालभैरव मन्दिर अगाडि माग्न बस्न थालेको कति समय बित्यो ? न अरुलाई थाहा छ, न त उनी आफैंलाई । घरपरिवारले बस्न नदिएपछि तामाङ दोलखाबाट विराटनगर हुँदै काठमाडौं आएकी हुन् । काठमाडौं आउँदा उनीसँग ७ वर्षको छोरा पनि थियो ।

दुई वर्ष उनले छोरालाई आफूसँगै राखिन् । आफूले काठमाडौँका होटल र घरका भाँडा माझिन् । छोरा ९ वर्षको पुगेपछि उनले होटलमा काम लगाइन् ।

तर, दुर्भाग्य होटलमा काम गर्न गएको छोरा एकदिन कोठामा फर्किएन । स्वयम्भुमा डेरा गरेर बस्ने कान्छी छोराको खोजीमा सक्नेजति डुलिन् । छोरा भेटिएन, पछि बुझ्दा थाहा भयो, छोरा होटलको काम छाडेर न्युरोडको रेडियो मर्मत गर्ने पसलमा काम गर्न थालेको रहेछ । उतै बस्ने गरी ।

छोराले उतै बिहे गर्याे, उनले खबर सुनिन् । केही समयपछि उनी पनि छोराबुहारीसँगै बस्न गइन् । छोराबुहारीको कोठामा पुगेकै दिन उनलाई पखाला चल्यो । बुहारीले फोेहोरी बुढीलाई घरमा राख्न सक्दिनँ भनेर निकालिन् ।

‘छोराले हेरिमात्रै रह्यो । नजाऊ आमा पनि भनेन, श्रीमतीलाई पनि रोकेन,’ बताउँदै गर्दा कान्छीको स्वर मधुरो थियो । अँध्यारो भइसकेको भए पनि वसन्तपुरमा मान्छेको चहलपहल अझै केही बाँकी थियो ।

छोराबुहारीको घरबाट निस्केपछि उनले घर बनाउने ठाउँमा बालुवा चाल्ने काम गर्न थालिन् । दिनभर बालुवा चाल्ने काम गर्थिन्, साँझ परेपछि वसन्तपुरको पाटीमै निदाउँथिन् । यसरी उनका धेरै दिन बिते । आज पनि उनको बास त्यही पाटीमै छ । फरक के हो भने, उनी अचेल बालुवा चाल्न सक्दिनन् ।

२०७३ सालको सुरुवातको एक साँझ । मैले उनीसँग पहिलोपटक कुरा गरेको थिएँ । साँझपख वसन्तपुर डुल्दैथिएँ । कालभैरव मन्दिर अगाडि पुग्दा, वरिपरि पुराना र मैला लुगाहरुको थुप्रो थियो । तिनै लुगाको थुप्रोमाथि कुकुरहरु बसेका थिए । कुकुर र लुगाको थुप्रोको मध्यभागमा थिइन्, कान्छी तामाङ ।

उनको यो अवस्था देखेपछि छेउकै किराना पसलमा गएर मैले बिस्कुट र जुस किनेर ल्याएँ । उनले जुस नखाने भनिन् । ‘किन नखाने आमै’ भनेर सोध्दा उनको जवाफ थियो, ‘झोल खायो पनि पिसाब लाग्छ, याँ पिसाब गर्ने ठाउँ छैन । अनि म हिँड्न पनि सक्दिनँ ।’

जब साँझ बिस्तारै रातमा परिणत हुन थाल्छ । वसन्तपुरको चहलपहल पनि कम हुन्छ । वसन्तपुरमा मान्छेको आवादी कम भएपछि उनी दिनभरको पैसा र एउटा सानो पोको बोकेर काष्ठमण्डप छेउका पसलमा जान्छिन् र केही खानेकुरा किनेर ल्याउँछिन् । तिनै मैला र पुराना लुगाहरुमा गुटमुटिएर सुत्छिन् ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको अध्ययन अुनसार पनि मठ मन्दिरमा माग्न बस्नेहरुमा वृद्धवृद्धाको संख्या बढेको छ । ज्येष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ ले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवन व्यतित गर्न पाउने अधिकार सुनिश्चत गरेको छ । तर, त्यो अझै व्यावहारिक भइनसकेको प्रतिवेदनले औँल्याएको छ ।

कान्छीलाई आफू काठमाडौं आएको मिति याद छैन, न त आफ्नो उमेर नै । तर उनले केही सम्झेर भनिन्, ‘त्यतिखेर राजा मरेका थिए, उसको छोरा नयाँ राजा बन्यो ।’ उनको कुराबाट बुझिन्छ, उनी काठमाडौं आउँदा राजा महेन्द्रको निधन भएपछि वीरेन्द्र राजा हुँदैथिए ।

उनको जिन्दगी दिन, रात, घाम, पानी, शीत केही नभनी यसरी नै बितिरहेको छ । ‘पानी परेको बेला ऊ त्यो परको पाटीमा गएर सुत्छु,’ उनले अगाडि रहेको मन्दिर देखाउँदै भनिन् । उनलाई कसैले छाता दिएको छ । त्यही छाता ओडेर दिनभर झोक्राइरहन्छिन् । उनी माग्न पनि सक्दिनन्, त्यसकारण कसैले दियो भने खान्छिन् । नभए भोकै बस्छिन् ।

मन्त्रालयले गरेको अध्ययन अनुसार यसरी मठमन्दिरमा माग्न बस्नेहरुमा सबैभन्दा धेरै मधेसी र जनजाति छन् । मन्त्रालयको तथ्यांक अनुसार २६.१५ प्रतिशत मधेसी छन्, त्यति नै मात्रामा जनजाति पनि छन् । र सबैभन्दा थोरै दलित १०.७८ प्रतिशत रहेका छन् ।

प्रतिवदेनले यसरी माग्न बस्नुको प्रमुख कारण गरिबी देखाएको छ । गरिबीका कारण माग्न बस्नेहरुको संख्या ३३.८४ प्रतिशत रहेको देखिएको छ ।

कान्छीको बिहे सानै उमेरमा भएको थियो । बिहेको दुई वर्षमै उनका पति काम गर्न भनेर भारत गएका थिए । उनको उतै मृत्यु भयो । गाउँमा उनका देवरले भागको जग्गा खोसे । उनी मुद्दा लड्न गइन्, तर हारिन् । ‘उनीहरु हाकिमलाई रक्सी खुवाउँथे, घरमा बोलाउँथे, म त केही गर्न सकिनँ,’ उनले सुनाइन् ।

उनले धेरै कुरा बिर्सिसकिन् । कतिपय कुरा त उनी चाहेर पनि सम्झिन सक्दिनन् । कान पनि कम सुन्छिन् । उनीसँग संवाद गर्दा मेरो चर्को स्वर सुनेर बाटो हिँड्नेहरु मतर्फ हेर्दै थिए ।

मन्त्रालयको प्रतिवेदनले ५ वर्षभन्दा कम समयदेखि माग्न बस्नेहरुको संख्या सबैभन्दा धेरै अर्थात् ४६.१५ प्रतिशत रहेको देखाएको छ । त्यस्तै १० वर्षदेखि निरन्तर माग्न बसिरहेको संख्या २६.१५ प्रतिशत रहेको छ ।

‘समाजमा योगदान पुर्याएका व्यक्तिहरुले जीवनको उत्तरार्द्धमा समेत सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक र अधिकार भएता पनि मठ मन्दिरमा मागेर जीविकोपार्जन गर्न बाध्य भएका छन् । सामान्य जीवन बिताइरहेका मानिसहरु विभिन्न कारणबाट मागेर खान बाध्य भएको अवस्था हामीमाझ विद्यमान रहेको छ ।

मुख्यतया उनीहरु लोग्नेले निकालेर, काम गर्न नसकेर, छोराछोरीले नहेरेर, अपाङ्ग भएर र गरिबीका कारण मागेर खान बाध्य भएका छन्,’ प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

यसरी माग्न बस्नेहरुमध्ये अधिकांशको दैनिक कमाइ १ सय ५० रुपैयाँ सम्म हुन्छ । १ सय ५० रुपैयाँ दैनिक आम्दानी गनेहरुको संख्या ५६.३ प्रतिशत रहेको छ ।

सडक तथा मन्दिरमा माग्न बस्नेहरुमा नेपाली नागरिक मात्रै नभई भारतीय र भुटानी नागरिकसमेत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । माग्न बस्नेहरुमा भुटानी तथा भारतीय नागरिकको संख्या १५ प्रतिशत रहेको प्रतिवदेनले देखाएको छ । माग्न बस्नेमध्ये सबैभन्दा धेरै पहाडी जिल्लाका ४६.१५ प्रतिशत मानिस रहेको छ ।

जीवनको उत्तरार्धमा पुगेकी कान्छीलाई अब छोराले लगेर पाल्छ भन्ने आश छैन । ‘यत्रो जिन्दगी मागेरै बाँचेँ, अब कल्ले लगेर पाल्छ मलाई ?’ उनी उल्टै प्रश्न गर्छिन् । अब उनको एउटै चाहना छ । उनको मृत्युपछि उनलाई स्वयम्भुमा लगेर गाडियोस् । यति गरेपछि उनी आफूले मुक्ति पाउँछु भन्ने ठान्छिन् ।

वसन्तपुरको चहलपहल निकै कम भइसकेको थियो । अगाडि रहेको हनुमान ढोका प्रहरी बिटतर्फ संकेत गर्दै उनले मलाई भनिन्, ‘नानी तिमी घर जाऊ, अब पुलिसले दुःख दिन्छ ।’

मानवसेवा आश्रमले दिएको नव जीवन 

हाल आमा मानवसेवा आश्रम काठमाडौंको संरक्षणमा हुनुहुन्छ । उनको सेवा गर्ने अवसर पाउँदा हामी आफै दंग छौं । आजपनि यस किसिमबाट सडकगल्ली र सार्वजनिक स्थलहरुमा कयौंले कष्टपुर्ण जीवनयापन गर्न परिरहेको छ । आशा छ सवैजनाको जीवनमा एकदिन हाँसो ल्याउन हामी सक्षम हुनेछौं । 

भिडियो हेर्न यस लिङ्क खोल्नुहोस् ।

To see video of kanchi aama

For video