मनोरोगी आमा, जसलाई सिङ्गो परिवारले छाड्यो


काठमाडौँ– ‘कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ’, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाइन् ।  कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महिना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने उनी छोराले छाडेपछि कोठाभित्रै दिसापिसाब गर्दै आएकी छन् । 

कोठाको भाडा र केही खानेकुरा छिमेकी युवराज बुढाथोकीले दिन्थे । ‘कुनै बेला नाङ्गै पनि हुनुहुन्थ्यो, छोरो पनि आमा छाडेर कता भाग्यो थाहै भएन, त्यसपछि हेर्ने मान्छे नै नभएर मैले नै सहयोग गर्थे’, बुढाथोकीले भने । 

आज बिहान बूढानीलकण्ठस्थित उक्त टहरोभित्रको कोठामा उनी उभिएर लुगलुग काम्दै गरेको अवस्थामा देखिन्थिन् । उनका अनुसार जेठो छोरो बालकोटमा बस्छन् । कान्छो छोरा सन्तोषले पाल्दै आएको थियो । 

‘कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु’, अनायासै उनले कुराहरू सुनाउँदै गइन् । ‘ल जाम आमा अब हाम्रो घर’, मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भनिन्। ‘जान त जानी, मेरो सामानचाहिँ लानुपर्छ है’ उनले भनिन् । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा थिइन् उनी । वर्षौसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो । 

‘सामान पछि ल्याउँला है, अहिले हजुर चाँहि हिँड्नू, जाम’, अभियन्ता मगरको भनाइ टुङ्गिन नपाउँदै उनले जिद्दी गर्दै भनिन्, ‘दुःख सास्ती गरी जोडेको सामान छोड्दा पछि हामीलाई आँशु लाग्छ, श्राप लाग्छ, कहिल्यै केहीको मुख देख्न पाइँदैन, लिएरै जानुपर्छ ।’ सामान ल्याउने शर्तमा उनी मानवसेवा आश्रममा जान तयार भइन् । ‘मेरो मनै बिगार्देको छ, नदेखेको शत्रु बाबु बराबर भन्छन्, कुनै कुरा मनमै नरहनी, मन थिरै नहुने हुन्छ के’ उनी गुनगुनाइन् । 

स्थानीयका अनुसार चण्डिकालाई मनोरोग लागेको १४ वर्ष भयो । रोग लागेकै कारण परिवारले उनलाई छाडे । श्रीमानले अर्को बिहे गरे । एकजना ठेकेदारकहाँ काम गर्थे छोरा सन्तोष । एकदिन उनकी आमा फेला पारेपछि ठेकेदारले नै सन्तोषलाई भनेर आमा छोरासँगै राखिदिएका थिए । सात महिनाअघि छोराले छाडेपछि उनी एक्लै भएकी थिइन्। 

उनका भाडा र खानेकुरा सहयोग गर्दै आएका स्थानीय बुढाथोकीलाई कति दिन यसरी राख्ने भनेर चिन्ता लाग्यो । छिमेकी गङ्गादेवी श्रेष्ठलाई सबै कुरा बताएपछि मानवसेवा आश्रमको बारेमा थाहा पाएर उद्धारको प्रयास थालिएको थियो । 

‘यही माघ ११ गते मैले आश्रममा गएर घटनाबारे जानकारी गराएँ, आश्रम उद्धारमा इच्छुक भयो’, गङ्गादेवीले भनिन्, ‘यो विजोग देख्नुभन्दा उद्धार हुन पाए राम्रो हुन्थ्यो भन्ने लागेको थियो, आज उद्धार भएकोमा धेरै खुशी छु ।’ कतिबेला नाङ्गै देखेपछि आफूले नै कपडा फेरिदिने गरेको उनले बताइन् । 

आज मानवसेवा आश्रम काठमाडौँका संयोजक सुमन बर्तौला, अभियानकर्मी जमिर श्रेष्ठ र सन्तोषी मगर, समाजसेवी एवं पशु अधिकारकर्मी बीना पन्तको सहभागितामा उनलाई उद्धार गरेर बूढानीलकण्ठस्थित आश्रममा लगेर राखिएको छ । 

आश्रमले यस्ता मनोरोगी तथा घरैमा साङ्लाले बाँधिएर बस्न बध्य भएका, सडकमा बेवारिसे अवस्थामा रहेकालाई उद्धार गरेर संरक्षण गर्दै आएको छ । धेरैलाई उद्धार गरेर उपचारपश्चात् निको पारी परिवारमा पुनःस्थापित गरिएकाले उनलाई पनि पुनःस्थापितको प्रयास गरिने बर्तौलाले बताए । यसरी उद्धारमा सुरक्षाकर्मी तथा स्थानीय तहको महत्वपूर्ण सहयोग रहने गरेको उनको भनाइ छ ।