बागमती प्रदेश: सामाजिक विकास मन्त्री युवराज दुलालको जन्मदिन मानवसेवा आश्रममा


बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय युवराज दुलालज्युले फागुन ८ गते परेको आफ्नो जन्मदिन मानवसेवा आश्रम मुख्य कार्यालय हेटौडामा मनाउनुभएको छ ।

मानवसेवा आश्रमले सडकपेटी एवं सार्जजनिक स्थलहरुबाट उद्धार गरी सेवा संरक्षण प्रदान गर्दै आइरहेको १४५ जना बेसहारा सहयोगापेक्षीहरुलाई भोजन गराई मन्त्री दुलालले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाउनुभएको हो । 

आफ्नो सम्पूर्ण जीवन नै मानवीय सेवाको लागि समर्पित गरेको स्मरण गर्दै मन्त्री युवराज दुलालज्युले मानवसेवा आश्रमको अभियानमा आफु सदैव संगै रहेको बताउनु भएको छ । 

उहाँले प्रदेश सरकारले अघि सारेको सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश निर्माण गर्ने नितिलाई कार्यान्वयन गर्न मानवसेवा आश्रमले पुर्याइरहेको योगदानको प्रशंसा गर्दै मानवसेवा आश्रम मुख्य कार्यलय मकवानपुर हेटौंडाको निर्माणाधिन भवनलाई पूर्णता दिन प्रदेश सरकारको सहयोग रहने  बताउनुभएको छ । 

आश्रममा जन्मदिन मनाउँदै मन्त्री दुलालले भन्नुभयो–‘जन्मदिन कसरी मनाउनुपर्छ भनेर सन्देश प्रभाह गर्नका लागि पनि फरक तरिकाले मनाएको हुँ ।’

मानवसेवा आश्रमले ३ नं. प्रदेशभित्र मकवानपुरको हेटौंडा, चितवनको भरतपुर, काठमाडौंको सामाखुशी र बुढानिलकण्ठ, ललितपुरको हात्तिवन र भक्तपुरको कौशलटारमा आश्रमको शाखा सञ्चालन गरी ५०० जना बेढी खुला आकाशमुनी रात विताउदै आइरहेका सहयोगापेक्षी सडकमानवहरुलाई संरक्षण प्रदान गर्दै आइरहेको छ ।