सार्थक बन्दै सडक मानवमुक्त काठमाडौं महानगर घोषणा अभियान : ७४९ को उद्दार ५८८ घर फर्किए


काठमाण्डौ महानगरपालिकाका विभिन्न स्थानमा बसी मागेर आफ्नो गुजारा चलाउने व्यक्तिलाई ब्यबस्थित गर्ने प्रक्रिया चलिरहेको छ । मानवसेवा आश्रमको सहकार्यमा काठमाण्डौ महानगरपालिकाको यस अभियानबाट अहिलेसम्म ७४९ जनाको उद्दार गरिएको छ ।

बैठकमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मंसिर २९ गते शुरुभएको अभियानदेखि फागुन ११ गतेसम्मको प्रगति विवरण प्रस्तुत गर्दै यस अवधिमा ७४९ जना व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो । यीमध्ये ६९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो । 

यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन । उद्धार गरिएकामध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो — ७० जनाको स्क्रिनिङ् हुन बाँकी छ । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सडकलाई बेसहारा, अभिभावनबिहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको संयोजक एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सोमबार बसेको मुल बैठकमा — बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र जेष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानव अधिकारका सवालमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनु पर्ने बताउनुभएको हो ।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरीकन स्क्रिनिङ् सेन्टरमा कम्तीमा ५ दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिहरुमा १६ बर्षमाथि ४० बर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् । तीमध्ये पनि रक्सी र लागू औषधको प्रयोगकर्ता धेरै छन् । भरियाहरु भएको ठाउँमा बिहान ४ नबज्दै भट्टी पसल खुल्ने भएकोले उनीहरुमा यसप्रकारको कुलत भएको अभियानकर्ताको निष्कर्ष छ ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले — ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पुर्याउन सक्ने धारणा राख्नुभयो । शान्ति सुरक्षासँग सम्बन्धित काममा हामी साथमै छौं, बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले सहकार्यमा साथ रहेको बताउनुभयो ।

बिस्तृत जानकारी