पशुपति क्षेत्रबाट २७ जनाको उद्दार : काठमाडौँ महानगर सहयोगापेक्षी सडकमानव मुक्त घोषणा अभियान


मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) ले हिजो (१४ फागुन २०७६) पशुपति क्षेत्रबाट २७ जनाको उद्दार गरेको छ ।

काठमाडौँ  महानगरलाई सहयोगापेक्षी सडकमानव (असहाय, अशक्त, बेसहारा एवं अभिभावक बिहिन) मुक्त घोषणा अभियानलाई सार्थक बनाउन यस महानगरको अभियानमा सहकार्य गरेको मानवसेवा आश्रमले उद्दार गरि काठमाडौँको बालाजु स्थित स्क्रिनिंग सेन्टर लागेको छ ।

पुष २९ गते घोषित सडक आश्रित मानवमुक्त काठमाडौँ महानगर अभियानपछि नेपाल प्रहरी, महानगर प्रहरी, मानवसेवा आश्रमको संलग्नतामा निरन्तर उद्दार कार्य गरिएको छ ।

गएराती पशुपति क्षेत्रबाट जम्मा २७ जनाको उद्दार भएको छ जसमा २२ जना पुरुष, २ जना महिला र ३ जना बालबच्चा रहेका छन् । यसअघि पशुपति क्षेत्रबाट विभिन्न समयमा सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुको उद्दार गरिएको भएपनि हिजोको संख्या ठुलो रह्यो ।यसरी पुन:  संख्या बढ्नुको  कारण भर्खरै सम्पन्न शिवरात्रि रहेको उद्दारमा नेतृत्व गर्नुभएका मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युले बताउनुभयो ।

यसअघि आश्रमले मंगलबार २८ जनाको उद्दार गरेको थियो । यस्तै सोमबार मात्र प्रगति विवरण प्रस्तुत गर्दै रामजी अधिकारीज्युले काठमाडौँ महानगर सहयोगापेक्षी सडकमानव मुक्त घोषणा अभियानको क्रममा पुष २९ देखि फागुन ११ गतेसम्म ७४९ जनाको उद्दार भएको जानकारी गराउनुभएको थियो ।