मानवसेवा आश्रमलाई श्रेष्ठ परिवारद्वारा बीस करोड बराबरको जग्गा दान, सामाजिक विकास मन्त्रीले युवराज दुलालले गरे गृहारम्भ


३ नं. प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री युवराज दुलालज्यूले मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माणको लागि ३ नं. प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ ।
मानवसेवा आश्रम चितवन शाखा आयोजना गरेको समारोहवीच भवननिर्माणकार्यको गृहारम्म गर्दै उहाँले मानवसेवा आश्रमको संरचनाहरु निर्माण गर्न ३ नं. प्रदेश सरकारको विशेष सहयोग रहने बताउनुभएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण लगाएतको व्यवस्थापन आश्रमले परोपकारी नेपाली मनहरुको स्वेच्छिक सहयोगबाट गरिरहेको छ, आश्रमको भौतिक संरचना निर्माणको लागि ३ नं. प्रदेश सरकारले सहयोग गर्नेछ ।”
 
भवननिर्माणको लागि भरतपुर ३ बेलचोकमा अनुमानित २० करोड बराबरको आठ कट्ठा जग्गा स्व. भगवानदास श्रेष्ठज्यू, प्रेम कुमार श्रेष्ठज्यू एवं श्रेष्ठ परिवारले आश्रमलाई उपलब्ध गराउनु भएको हो । 
धेरै स्थानबाट पहिलेदेखी नै कुरा आएको हो, तर मानवसेवा आश्रमले हाम्रो मन जित्यो । बाल अस्पताल स्थापना गरेर सेवा गर्ने भाई भगवान दासको सपना अब पुरा हुने भएको छ, जग्गा दाता प्रेम कुमार श्रेष्ठले बताउनु भयो । 
उहाँले भन्नुभयो यहाँ बाल अस्पताल नै त सम्भव भएन तर त्यो भन्दापनि सहपोगापेक्षीहरुको सेवा गर्ने पवित्र मन्दिर बन्न लागेकोले हामी खुशी छौं । 
कार्यक्रममा बोल्दै स्व. भगवान दास श्रेष्ठकी दिदी मैयादेवी श्रेष्ठले कसैलेपनि मरेर जाँदा केही लिएर नजाने बताउदै स्व. भाईको सेवाभावले सार्थकता पाउन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । 
मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यूको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले गर्नुभएको थियो । 
दुई बर्ष भित्र भवन निर्माण सकि गृहप्रवेश गराउन लक्ष्य लिएको आश्रमले निर्माण पश्चात् उक्त भवनमा २०० जना सहयोगापेक्षी मानवहरुलाई सेवा दिन सकिने गरी संस्थाका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभयो । भवन निर्माणको लागि कम्तिमा पनि चार करोडको आवश्यकता रहेको अधिकारी बताउनुहुन्छ ।  
 
कार्यक्रममा प्रदेशसभा सदस्य माननीय विजय सुवेदीज्यू, जिल्ला समन्वय समितिका सभापति कृष्ण कुमार ढल्लाकोटीज्यू, स्व. भगवानदास श्रेष्ठज्यूको धर्मपत्नी कल्याणी श्रेष्ठज्यू, भरतपुर उपमहानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीज्यू, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतज्यू, प्रमुख प्रशासकिय अधिकृत नेत्र आचार्यज्यू, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानज्यू, भरतपुर अस्पतालका मेसु डा. कृष्ण पौडेलज्यू, नारायणगढ फलफुल तथा थोक तरकारी व्यवसायी संघका अध्यक्ष कृष्ण कडेंलज्यू, समाजसेवी प्रभात कुमार जोशीज्यू, महेन्द्रलाल प्रधानज्यू, स्थानिय वडा अध्यक्ष चन्द्र मित्र पण्डीतज्यू, लगाएत करिब ७० जनाको उपस्थिति रहेको थियो ।