यसरी आउँछन् बालबालिका सडकपेटीमा (उद्दारको भिडियो सहित)


 

मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) ले शनिबार काठमाण्डौ महानगरपालिकाबाट ४६ जनाको उद्दार गरेको छ । काठमाण्डौ महानगरपालिकाको सहयोगापेक्षी, असहाय, अशक्त, अभिभावकबिहिन, सडकआश्रित मानवमुक्त काठमाण्डौ महानगर घोषणा अभियानमा मानवसेवा आश्रमले सहकार्य गरिरहेको छ ।

पौष २९ गते घोषित अभियानपछि अहिलेसम्म ८९७ जना को उद्दार भईसकेको छ । जसमध्ये करिब ६०० जनालाई  परामर्शपछि पारिवारिक पुनर्मिलन गरिएको छ भने केहिले आश्रमको सेवामा सहजता प्रदान गर्नुभएको छ ।

शनिबार काठमाण्डौ स्थित संकटा, मानकाल, कालभैरब, भद्रकाली क्षेत्रमा सडकसेवा, उद्दार तथा परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।त्यसबाट जम्मा ४६ जनाको उद्दार गरिएको मध्ये १० जना बालबालिका रहेका छन् । ४ जना बालिका छन् भने ६ जना बालक छन् । त्यस्तै १७ जना पुरुष र १९ जना महिला रहेका छन् ।

मानवसेवा आश्रमको तथ्यमा आधिरित मुल्यांकन अनुसार बालबालिका सडकपेटीमा आउनुको पछाडीको मुख्य कारणनै उनीहरुका बाबुआमा रहेका छन् । घरपरिवार र अवस्था राम्रो भएका बालबालिकापनि बाबु आमाले आम्दानीको लागि सहज देखेर अपनाएको पेशेवर मगन्ते पेसालाई अगाल्न बाध्य भएका छन् । बाबुआमाको देखासिखी र सानै देखि गर्दै आएकोले बानि परेको देखिन्छ ।

यस्तै अन्य कारणमा कुनै व्यक्तिले नियन्त्रणमा लिएर उनीहरुलाई चोक चोक र जेब्रा क्रसमा माग्न बाध्य पारेको देखिन्छ । जब अनुसन्धान र परामर्शको लागि त्यहाँ पुग्ने टोलिको महशुस गर्छन माग्नकै लागि परिचालन गर्नेहरुले  नै बाहना बनाएर त्यहाँबाट भगाउने कोसिस गर्छन । कुनै कुनै अवस्थामा भने बाबुआमाले बालबालिकालाई देखेर मानिसहरुमा मानविय भावना पलाउदा धेरै आम्दानी हुने देखेर कमजोर अवस्था देखिने गरि बालबालिकाको परिचालन  गर्छन ।

 सानै देखि बाबुआमाले नियन्त्रण गरेको उनीहरुको दिमागमा के सहि के गलत भन्ने थाहा हुँदैन र त्यसैलाई निरन्तरता दिईरहेको देखिन्छ ।

उद्दार गरिएका व्यक्तिहरुलाई बालाजु स्थित मानवसेवा आश्रमको स्क्रिनिंग सेन्टरमा राखिएको छ । त्यहाँबाट अवस्था पहिचान गरेर पारिवारिक पुनर्मिलन सम्भव भएमा पारिवारिक पुनर्मिलन गरिनेछ भने अन्य अवस्थामा आश्रममा नै बस्ने ब्यबस्था मिलाईनेछ ।