सडकपेटीमा उत्तानो परेको जीवन (भिडियो सहित)


नेपालको सबैभन्दा ठुलो महानगरपालिका काठमाण्डौ महानगरपालिकाले सहयोगापेक्षी, असहाय, बेसाहारा, अशक्त, अभिभावकबिहिन सडकआश्रित मानवको ब्यबस्थापक अभियान सुरु गरेको छ। एक परोपकारी संस्था मानवसेवा आश्रम (मानवता प्रवर्दन महाअभियान) को सहकार्यमा यस अभियानको सुरु भईसकेको छ। 

काठमाण्डौ महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा मङ्सिर २९ गते बसन्तपुरमा आयोजित कार्यक्रममा काठमाण्डौ महानगरका मेयर बिद्या सुन्दर शाक्यले यस अभियानको घोषणा गर्नुभएको थियो । ३ महिनासम्म अभियान चलाइने र त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने मेयर शाक्यले बताउनुभएको थियो ।

सडक मानवमुक्त बनाउन सबै पक्षसँग सहयोगका लागि उहाँले अपिल समेत गर्नुभएको थियो । ‘सडकमा कोहि बेसहारा देख्नु भयो भने तत्कालै सम्पर्क गर्नुहोस, यो अभियानमा सबैको सहयोग आवश्यक छ’ उहाँले भन्नुभएको थियो, ‘सञ्चारकर्मीको त यसमा झन ठूलो भूमिका छ, सहयोग गर्नुहुन म आग्रह गर्न चाहन्छु ।’

यहि महाअभियानको क्रममा अभियानमा जोडिनुभएका विभिन्न पक्षसँग सहकार्य गर्दै मानवसेवा आश्रमले हरेक दिन काठमाण्डौ महानगरका कुनै न कुनै स्थानमा सडकआश्रित मानवको उद्दार एवं  परामर्श गर्दै आईरहेको छ। अहिलेसम्म यस अभियानबाट ९०० जना भन्दा धेरैको उद्दार गरिएको छ भने करिब ६०० जनाको परामर्शपछि पारिवारिक पुनर्मिलन भएको छ। 

आइतबार कालिमाटी, कलंकी, कुलेश्वर क्षेत्रमा भएको रात्रीकालिन सडकसेवाबाट मात्र ४० जनाको उद्दार भएको छ। जसमध्ये केहिमात्र बास्तविक सहयोगापेक्षी हुनुहुन्छ। ३६ जना पुरुष र ४ जना महिलाको उद्दार भएको हो।