बुटवलमा सम्पन्न महायज्ञको आयव्यय सार्वजनिक, बुटवल शाखाद्वारा १४ महिनामा ३२२ को उद्दार


मानव सेवा आश्रम बुटवलले १४ महिनाको अवधिमा ३ सय २२ जनालाई सडकबाट उद्दार गरेको छ । २०७५ साल बैशाख १८ गतेबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको आश्रमले प्रदेश– ५ का विभिन्न जिल्लाहरुबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडक आश्रित ३ सय २२ जनाको उद्दार गरेको हो ।

मानव सेवा आश्रम प्रदेश–५ की संयोजक सुशीला केसीले ३ सय २२ जना मध्ये ७६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको जानकारी दिइन् । त्यस्तै ३० जनालाई अन्य आश्रमको शाखाहरुमा स्थान्तरण, ७४ जनालाई परामर्श सेवा पश्चात घर पठाइएको आश्रमले बताएको छ । कुल ३ सय २२ जना उद्दार मध्ये १० जनाको उपचारका क्रममा मृत्यु भएको पनि आश्रमले बताएको छ ।

हाल बुटवल आश्रममा १ सय ३० जनाले आश्रय पाइरहेका छन् । सेवाकै क्रममा ३ जना मानसिक समस्या भएका आमाबाट जन्मिएका बालबालिका समेत आश्रममा छन् । आश्रमकै सहयोगमा गत ४ पुसमा बुटवल उपमहानगरपालिका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ अभिभावक विहीन) सडक आश्रित मानवमुक्त उपमहानगरपालिका घोषणा भएको छ ।

हाल आश्रममा ४ जना अभियान्ता, ३ जना व्यवस्थापकहरु, २ जना सुरक्षाकर्मी, ६ जना सेवक र ४ जना सामाजिक विकास मन्त्रालयबाट स्वाथ्यकर्मीहरु खटिएका छन् ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बुटवलकै पहलमा २०७७ सालभित्र प्रदेश सरकारको सहकार्यमा प्रदेश–५ लाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गरिने बताए ।

उनले २०८२ साल भित्र नेपाललाई नै सडक आश्रित मानवमुक्त घोषणा गरिने तयारी अनुरुप हालसम्म गोरखा नगरपालिका, हेटौंडा उपमहानगरपालिका–९, मकवानपुर, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, कर्णाली प्रदेश, काठमाडौं पशुपति मन्दिर क्षेत्र, सिद्धबाबा मन्दिर र बाग्लुङ कालिका मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गरिएको बताए ।

७ प्रदेशका १४ जिल्लामा १९ वटा सेवा केन्द्रमार्फत सेवा गर्दै आएको मानवसेवा आश्रम केन्द्रमा हालसम्म १ हजार ५० जना आश्रित रहेका छन् । आश्रमले हालसम्म १ हजार ६ सय ६८ जनालाई पारिवारिक पुनर्मिलन, ३ हजार २ सय ४८ जनालाई उद्दार, ५० जनलाई वैदेशिक पुनर्मिलन, २५ जनालाई अन्य आश्रममा स्थान्तरण र हालसम्म ४ सय ५५ जनाको मृत्यु भएको पनि आश्रमले जनाएको छ ।

महायज्ञबाट ३ करोड ३१ लाख बचत

माघ २० देखि २७ गतेसम्म मानव सेवा आश्रम बुटवलको आयोजनामा भएको श्रीमद्भागवत ज्ञानमहायज्ञबाट ३ करोड ३१ लाख ५६ हजार ४ सय १४ रुपैयाँ बचत भएको छ ।

महायज्ञ संयोजक लोकनाथ भुसालले कुल ३ करोड ७० लाख ४० हजार ६ सय ११ रुपैयाँ मध्ये ३८ लाख ८३ हजार १ सय ९६ रुपैया खर्च भएको र ३ करोड ३१ लाख ५६ हजार ४ सय १४ रुपैया बचत भएको जानकारी दिए ।

सामाजिक विकास मन्त्री सर्दुशन बरालले आश्रमका लागि आवश्यक भवन निर्माणका लागि पहल कदमी भइरहेको बताए । प्रदेश सरकारले निती तथा कार्यक्रममै प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने भनेकाले भवन निर्माणको काम मन्त्रालयले गर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले भवन निर्माण उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

शिलापत्रडटकम