दुई बर्षदेखि हात्तिपाइलेले थलिएका जितबहादुरको उद्दार, "अब बाँच्छु भन्ने आशा पलाएको छ"



हेटौडा उपमहानगरपालिका वडा नम्बर -७ मा कष्टकर जीवन बिताईरहेका एक व्यक्तिको उद्दार भएको छ । हेटौडा उपमहानगरपालिका, वडा नम्बर -७, जिल्ला समन्वय समिति मकवानपुर र मानवसेवा आश्रमको संयुक्त टोलिले उद्दार गरेको हो ।

करिब २ बर्षदेखि वडा नम्बर ७ मा हात्तीपाइले रोग लागेर थला पर्नुभएका जित बहादुरको चैत्र ६ गते भएको  उद्दारपछी उहाँ अहिले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौडामा हुनुहुन्छ । उद्दारपछी आश्रमले उहाँलाई सिधै हेटौडा अस्पतालमा लागेको थियो । एक हप्तासम्म अपरेसन गर्ने भनेर अस्पतालमा राखिएपनि उहाँको कमजोर शारीरिक अवस्थाले साथ नदिएपछि अपरेसन सम्भव हुन सकेन । उहाँको अहिले आश्रममा नै अपरेसन सम्भव बनाउन नियमित औषधोपचार भईरहेको छ । अस्पतालले ३ हप्तापछी पुन: फलोअपको लागि बोलाएको छ ।

उद्दारको क्रममा कुराकानी गर्दा जित बहादुरले अब बाच्ने आशा पलाएको बताउनुभएको छ । भन्नुहुन्छ, "धेरै दुख पाएँ, अस्पताल पनि गएँ तर उपचार सम्भव भएको थिएन । यसअघि पनि मानवसेवा आश्रमले अन्य यस्तै प्रकृतिका व्यक्तिहरुको उद्दार गरेको सुनेको थिएँ । अब थोरै भएपनि बाच्ने आशा पलाएको छ ।"

उद्दारमा उपस्थित रहनुभएका वडा -७ का वडा अध्यक्षज्युले समेत उहाँलाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ । " दुईबर्ष अगाडी उहाँलाई उपचारको लागि भरतपुर पुर्याउन खर्च जुटाएका थियौँ । हामि उहाँलाई सहयोग गर्न तयार छौं । उहाँलाई हामीले नै सरकारी जग्गा उपलब्ध गराएर यहाँ बस्ने ब्यबस्था गरेका थियौँ । उहाँको ब्यबस्थापकीय पाटो आश्रमले गरेपनि आर्थिक सहयोग र औषधोपचारको जिम्मा वडा सरकारले लिने छ ।"