मानवसेवा आश्रम बागलुङ शाखा चौथो बर्षमा प्रवेश, साँझ दीप प्रज्वलन हुने


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखा चौथो बर्षमा प्रवेश गरेको छ ।

मानवसेवा आश्रमको आठौँ शाखाको रुपमा ३ बर्ष अगाडी बागलुङ बजारमा आश्रमले शाखा बिस्तार गरेको थियो । त्यसपछि आश्रमले ३ बर्षको अन्तरालमा ७० जनाको उद्दार गरेको छ । जसमध्ये अहिले आश्रममा ४० जना आश्रित हुनुहुन्छ भने ७ जनाको सफल पारिवारिक पुनर्मिलन भईसकेको छ । ३ जनाले आश्रममा नै शरीर छाडीसक्नुभएको छ ।

"अहिलेको कोरोना संक्रमणको विषम परिस्थितिमा आश्रमले चौथो बर्षमा प्रवेश गरेको छ । धेरै जनाले यस्तो अवस्थामा आश्रम किन मौन भनेर प्रश्न गरिरहनुभएको छ ।" मानवसेवा आश्रमको केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला संयोजक सुमिरा लामा भन्नुहुन्छ ।

"हामि अहिलेपनि उहाँहरुको उद्दारको लागि तयार छौं तर कोहि कोरोना लागेको व्यक्तिको उद्दार गरिएको अवस्थामा आश्रममा रहनुभएका कमरोज प्रतिरोधात्मक क्षमता भएका धेरैजना संक्रमित हुन सक्ने र त्यसले माहामारीको रुप लिन सक्नेभएकोले प्रहरी वा सरोकारवालाहरुलाई कोरोनाको संक्रमण नभएको मेडिकल रिपोर्ट लिएरमात्र आश्रममा ल्याईदिनुहुन अनुरोध गरेका छौं ।"

"मानवसेवा आश्रमलाई यहाँसम्म ल्याईपुर्याउन तन, मन र धनको त्रिवेणीबाट सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकज्युहरु, सहयोगी तथा परोपकारी मनहरु, शुभेच्छुक सम्पूर्णमा धेरै धेरै साधुवाद अर्पण गर्दै निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौं ।" उहाँले थप्नुभयो ।

यस्तै कोरोनाले गर्दा सबैजना भेला भएर वार्षिकोत्सव मनाउन नपाएपनि आश्रमले साँझ दीप प्रज्वलन गर्दै खुसीयाली मनाउनेछ ।

मानवसेवा आश्रमले अहिले देशका सातै प्रदेश १४ जिल्ला र १९ सेवाकेन्द्रबाट सेवा सन्चालन गरिरहेको छ । आश्रममा अहिले सबै शाखामा गरि ११०० भन्दा धेरै लक्ष्मीनारायण तथा बालगोपालहरुले गरिमा बढाईरहनुभएको छ ।