राष्ट्रिय क्रिकेटर सुनिल धमलाको मानवसेवा आश्रमलाई सहयोग


नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सुनिल धमलाले मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ । मानवसेवा आश्रमले गरेका गतिबिधिहरुलाई सामाजिक सञ्जालबाट नियाल्दै सहयोग गर्नुभएको हो ।

सुनिल धमलाले आफुले यस कठिन समयमा सानो भएपनि सहयोग गर्नको लागि ठाउँ खोजिरहेको र सामाजिक सञ्जालमा मानवसेवा आश्रमले गरेका गतिबिधिहरु हेर्दै गर्दा सहि ठाउँ हो जस्तो लागेर सहोग गर्न मन लागेको बताउनुभयो । उहाँले आश्रममा फोन सम्पर्क गरि सहयोगको लागि निमन्त्रणा गर्नुभएको थियो ।

देशलाई नै वि.स २०८२ सालभित्र सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त निर्माण गर्ने महाअभियान सहित अगाडी बढेको मानवसेवा आश्रमले यतिबेला कोरोनाको कारणले सहयोगापेक्षी व्यक्तिहरुलाई सिधै उद्दार गरेर आश्रम लैजाने अवस्था छैन ।

त्यसैले उद्दार सम्भव नभएको अवस्थामा भक्तपुर जिल्लाका विभिन्न स्थानमा सहयोगापेक्षी अवस्थामा रहनुभएका, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने र बैंकको कारोबार विशेष अवस्थामा मात्र हुने भएकाले समस्यामा परेका ब्यतिहरुलाई भोजन सेवा गराइरहेको छ ।