माननीय पम्फा भुषालज्युको उपस्थितिमा ललितपुरमा मानवसेवा आश्रमको आफ्नै भवन शिलान्यास


जेठ १२ गते, २०७७ । ललितपुर धापाखेल -२४ मा मानवसेवा आश्रम ललितपुर शाखाको भवन शिलन्यास गरिएको छ । कोरोनाको कहरले आगामी दिनमा सहयोगापेक्षी सडकमानवहरुको संख्यामा वृद्दी हुने अनुमान सहित भवन शिलान्यास गरिएको हो 

मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष आदरणीय रामजी अधिकारीज्यु, ललितपुर महानगरका उप-प्रमुख आदरणीय गीता सत्यालज्यु र प्रतिनिधि सभा सदस्य माननीय पम्फा भुषालज्युले संयुक्त रुपमा आश्रमको भवन शिलान्यास गर्नुभयो । भवन निर्माणको लागि माननीय पम्फा भुषालज्युले सांसद बिकाष कोषबाट १० लाख सहयोग गर्नुभएको छ । साथै उहाँले सम्पूर्ण ब्यक्तिले थोरै थोरै सहयोग गर्नुभयो, एक एक ईट्टा सहयोग गर्न सकियो भने आश्रम भाडाको घरबाट मुक्त हुने समेत जनाउनुभयो ।

यसैमा उप-प्रमुख सत्यालज्युले अहिले महानगरले आश्रमको घरभाडाको लागि बार्षिक ७ लाख सहयोग गरिरहेको र भवन निर्माणपछी पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता गर्नुभयो जसले गर्दा आश्रमको सेवामा अझ गुणस्तर आउने कुरा ब्यक्त गर्नुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छकोठे र दुई तलाको निर्माण हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौँ। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौँ ।” आश्रम निर्माणमा रु ५० लाख खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो ।

आश्रम निर्माणका लागि माननीय भुषालले जस्तै झम्सिखेल निवासी कमला शर्माले व्यक्तिगततर्फबाट रु १० लाख, गत वर्ष मानभवन निवासी सुरेन्द्रगोविन्द जोशीले रु एक लाख, मकैकुमारी विष्टले रु २५ हजार पाँच र एकान्तकुना निवासी सरला ढकालले रु ५५ हजार ५५५ सहयोग गर्नुभयो । आश्रम निर्माणका लागि सरकारी जग्गा भोगाधिकारका रूपमा उपलब्ध गराइएको हो ।

आजको दिनमा मानवसेवा आश्रम सातै प्रदेशका १४ जिल्ला र १९ सेवाकेन्द्रबाट सेवारत रहेको छ भने ११ सय भन्दा धेरै सहयोगापेक्षी आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा नानीबाबुहरुले गरिमा बढाईरहनुभएको छ ।