मानवसेवा आश्रम प्रदेश नं. २ शाखा, बीरगञ्ज चौथो बर्षमा प्रवेश


जेठ १५, २०७७ । मानवसेवा आश्रम प्रदेश नं. २, बीरगञ्ज शाखाले औपचारिक सेवा सुरुवातको तेश्रो वर्ष पुरा गर्दै आजदेखी चौथो वर्षमा प्रवेश गरेको शुभ अवसरमा बधाई एवं शुभ-भावना व्यक्त गर्दछौँ 

मानवसेवा आश्रम प्रदेश नं. २, बीरगंज शाखाको सेवामा तन, मन र धनको त्रिवेणीबाट सेवाकार्यलाई सहजता प्रदान गर्नुहुने हाम्रा सम्पूर्ण अभिभावकज्युहरु, सम्पूर्ण अभियान्ता प्रदेश नं. २, बीरगंज शाखाका संयोजक एवं सेवामा समर्पित अभियान्ताहरु, स्वेयंसेवकहरु र देश-बिदेशमा रहेर आश्रमको सेवाकार्यलाई साथ, सहयोग र अभिभावकत्व प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, स्थानीय सरकार, प्रदेश सरकार एवं संघिय सरकार, विभिन्न उदारमना व्यक्तिहरु एवं संघसंस्थाहरु सबैजनालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौँ ।

यहाँहरुको साथ, सहयोग र अभिभावकत्वले मानवसेवा आश्रमको चाहना, प्रतिबद्दता र सपना पुरा गर्दै वि.स २०८२ सालभन्दा अगाडी नै देशलाई सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्दै मानवताको राष्ट्र बनाउने सपनालाई आत्मसाथ गर्न सक्छौं भन्ने अनुभूति गरेका छौं 

आजभन्दा ३ बर्ष अगाडी २०७४ सालमा स्थानीयहरुको पहलमा एम्बुलेन्समा राखेर जनकपुरदेखि बेबारिसे अवस्थामा रहेका सहयोगापेक्षी व्यक्तिलाई एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाईएको रहेछ । अस्पतालमा सामान्य उपचारपछी ती व्यक्ति रेखदेख गर्ने कुरुवा कोही नभएर पुन: सडकमा नै रात बिताउन विवस भएपछी शाखा उद्घाटनको तयारीमा रहेको मानवसेवा आश्रमको आँखा पर्यो । धेरै अनुरोधपछी थप १ महिना अस्पताल प्रशासन भित्र नै राखेर हामी अभिभावक बनेर उपचारमा सहयोग गर्यौं । 

अन्त्यमा २०७४ सालको जेठ १५ गते आश्रमको समुद्घाटन गर्दै आफ्नो नाम शंकर बनाउने अन्दाजी बर्ष ३२ को उक्त दाईलाई उद्दार आश्रममा ल्यायौं जुन हाम्रो शाखाको पहिलो उद्दार रहेको थियो । उहाँलाई तत्कालिन प्रमुख जिल्ला अधिकारीज्यु, मानवता प्रेमी अभिभावकज्युहरु, शुभेच्छुकज्युहरु, पत्रकारज्युहरु लगायत आश्रमको स्थापनाको लागि सहयोगी भूमिका निर्वाह गर्दै हामीलाई उत्साहवर्दन गर्नुहुने सबैजनाको गरिमामय उपस्थितिमा उद्दार गरेर आश्रममा ल्याइएको थियो ।

आजको दिनमा मानवसेवा आश्रम प्रदेश नं. २, बीरगंज शाखामा ३१ जना आमाबुबाको साथमा मात्र १६ महिनाको बाबु उमङ्गसहितको परिवार रहेको छ । यो ३ बर्षको यात्रामा आश्रमले सयौं विभिन्न उमेर समुहका सहयोगापेक्षी व्यक्तिहरुको उद्दार गरेको छ जसमध्ये ८ जना भारत, ६ जना नेपाल र १ जना बंगलादेशको सहित जम्मा १५ जनाको पारिवारिक पुनर्मिलन सम्भव भएको छ । साथमा १५ जना आमाबुबाहरुले शरीर छोडीसक्नुभएको छ ।

हाल मानवसेवा आश्रमको सातै प्रदेश, १४ जिल्ला र १९ सेवाकेन्द्रहरुमा गरि १२०० जना विभिन्न उमेर समुहका सहयोगापेक्षी व्यक्तिहरुले गरिमा बढाईरहनुभएको छ ।

जय मानवसेवा ! जय मानवता !!