मुख्यमन्त्रीद्वारा मानवसेवा आश्रम गण्डकी प्रदेश पोखरा शाखाको मुख्य भवननिर्माण शिलान्यास


जेठ २५, २०७७ । सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवहरुको सेवाकार्यका लागि मानवसेवा आश्रमको गण्डकी प्रदेश पोखरा शाखाको मुख्य भवननिर्माण शिलान्यास सम्पन्न भएको छ । भवन पोखरा महानगरपालिका वडा नम्बर २५, हेम्जामा बन्न लागेको हो ।

शिलान्यास कार्यक्रम मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष आदरणीय रामजी अधिकारिज्युको अध्यक्षतामा सम्पन्न भएको हो । गण्डकी प्रदेशका संयोजक आदरणीय होमनाथ तिमिल्सिनाज्युले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अथितिको रुपमा मानवसेवा आश्रमका अभिभावक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङज्यु उपस्थित हुनुभएको थियो ।

यस्तै कास्कीको हेम्जामा बन्न लागेको मानवीय स्मारकको लागि जग्गा प्रदान गर्नुहुने लक्ष्मी नारायण मन्दिर सनातन गुठी प्रतिष्ठानका उपाध्यक्ष ऋषी सापकोटाज्यु एवं परिवार, भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने एवं संयोजन गर्नुहुने मोतिबहादुर थापा एवं सम्पूर्ण थापा परिवार, स्मारक बन्न लागेको पोखरा महानगरपालिका वडा नम्बर २५ का जनप्रतिनिधिज्युहरु लगायत आश्रमलाई प्रेम गर्नुहुने अभिभावकज्युहरु, शुभेच्छुकज्यु एवं मानवताप्रेमी मनहरुको उपस्थिति रह्यो ।

कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्रीज्युले उहाँहरु यस सेवामा अभिभावकत्व ग्रहण गर्न तयार रहेको सन्देश दिनुभयो । "अत्यन्तै राम्रो कार्य भइराखेको छ । सहयोगापेक्षीहरुको लागि बन्न लागेको यस सेवामा यो बर्ष प्रदेश सरकारको तर्फबाट १ करोड २४ लाख छुट्याईएको छ । आगामी बर्ष अझ धेरै छुयाउने योजना थियो तर कोरोनाको कहरले परिस्थिति प्रतिकुल बनेको छ तर पनि हरसम्भव प्रयास गर्नेछु ।" मुख्यमन्त्रीज्युले भन्नुभयो ।

"आश्रमको भौतिक संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिन्छ" - मुख्यमन्त्री

"साथमा गण्डकी प्रदेश भित्र रहेका मानवसेवा आश्रमका लमजुंग र गोरखा शाखामा पनि जग्गा प्राप्त भैसकेकोले निर्माण कार्यको सुरुवात गर्नको लागि ५०/५० लाख छुट्याइएको छ । बाग्लुंगमा भने जग्गा प्राप्त भईसकेपछी योजना बनाइने छ । जग्गा प्राप्त भएको ठाउँमा भवन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने छ ।" मुख्यमन्त्रीज्युले थप्नुभयो ।

आजको दिनमा मानवसेवा आश्रम देशको सात प्रदेशको १४ जिल्ला र १९ वटा सेवाकेन्द्रहरुबाट ११०० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा सेवारत रहेको छ भने पोखरा शाखाको अहिले एकलाख भन्दा बढी भाडा तिरेर छोरेपाटनमा भाडामा सन्चालन गरिएको आश्रममा १२७ जना उद्दार गरिएका सहयोगापेक्षी व्यक्तिहरु हुनुहुन्छ 

देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माण एवं घोषणा गर्ने महान अभियानसहित अगाडी बढेको मानवसेवा आश्रमको सपनामा सम्पूर्णले पुर्याउनुभएको साथ, सहयोग र अभिभावकत्वको लागि कृतज्ञ छौं ।