प्रदेश नं १ मा ११ बिघा १४ कठ्ठामा "मानवसेवा ग्राम" निर्माण हुने


असार २२, २०७७ । प्रदेश नं १ मा प्रदेश सरकारको नाममा रहेको ११ बिघा १४ कठ्ठा जमिनमा मानवसेवा ग्राम बन्ने भएको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नं ६ मा रहेको जमिनमा प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको प्रमुख अभिभावकत्व र मानवसेवा आश्रमको व्यवस्थापन एवं सन्चालनमा मानवसेवा ग्रामको निर्माण गरिने भएको हो ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा मन्त्रालयका माननीय मन्त्री जीवन घिमिरेज्यु, माननीय राज्यमन्त्री जसमाया गजमेयरज्यु, सचिव गोविन्द बहादुर कार्कीज्यु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय राज्यमन्त्री विजय बिश्वासज्यु, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यु, महासचिव शुसिला केसी (रुपा)ज्यु,प्रदेश नं १ संयोजक नवराज केसीज्यु सहित मानवसेवा आश्रमका अभिभावकज्युहरु र सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा  सोमबार भएको बिचारबिमर्ष पश्चात उक्त जमिनमा निर्माण हुने मानवसेवा आश्रमको भौतिक संरचना, ज्येष्ठ नागरिक ग्राम, ज्येष्ठ नागरिक मनोरन्जन केन्द्र सहित विभिन्न आकर्षक पार्कहरुसहितको क्षेत्रको नाम "मानवसेवा ग्राम" नामाकरण गर्ने निर्णय भयो । 

(मानवसेवा ग्रामको क्षेत्रफल छुट्याइएको नक्सा)

मानवसेवा ग्राम अन्तर्गत बन्न लागेको मानवसेवा आश्रमको भौतिक संरचना निर्माणको लागि २०७७ असार २९ गते सोमबार बिहान ८:०० बजे भवननिर्माण शिलान्यास गर्ने र प्रदेश नं १ लाई छिट्टै नै सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त प्रदेश बनाउनका लागि स्थानीय निकायको साथ, सहयोग र अभिभावकत्वमा उद्दार एवं पारिवारिक सेवाकार्यलाई तिब्रता दिने निर्णय भयो । मानवसेवा आश्रम र सडकमानवहरुको क्षेत्रमा सेवारत संघसंस्थाहरुसँगको समन्वयमा प्रदेश १ मा सडकआश्रितहरुलाई उद्दार गरि सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको माननीय मन्त्रीज्युले बताउनुभयो ।

साथै आर्थिक बर्ष २०७७/०७८ मा मानवसेवा ग्राम अन्तर्गत बन्न लागेको मानवसेवा आश्रमको भवनको निर्माणको लागि १ करोड र ज्येष्ठ नागरिक ग्रामको लागि २ करोड बजेट बिनियोजन भएको मन्त्रीज्यूले स्पष्ट पार्नुभयो । मानवसेवा आश्रमसहित पूर्ण मानवसेवा ग्रामको निर्माणको लागि सरकारका तिनवटै तह, परोपकारी उदारमना व्यक्तिहरु एवं संघसंस्थाको साथ र सहयोग रहेको अवस्थामा प्रदेश नं १ लाई नै छिट्टै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गर्न सकिने कुरामा मानवसेवा आश्रम र सामाजिक विकास मन्त्रालय प्रतिबद्द रहेको छ ।

मानवसेवा आश्रमको वि.स २०८२ सालसम्म देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गर्ने महाअभियानलाई सार्थक बनाउन संघिय सरकारको साथै प्रदेश १ सरकारले देखाएको चासो र बिश्वासको लागि प्रदेश १ सरकार र विशेष गरि सामाजिकविकास मन्त्रालयप्रति धेरै कृतज्ञ छौं ।

पोखरामा बन्न लागेको मानवसेवा धामको 3D डिजाइनको भिडियो:

 

मानवसेवा आश्रमको बिराटनगर शाखाले सेवा सुरुवात भएपश्चात ८९ जनाको उद्दार गरिसकेको छ जसमध्ये २५ जनाको पारिवारिक पुनर्मिलन, ६ जनाको मृत्य, ९ जनाले स्वेच्छाले आश्रम छोड्नुभएको छ भने अहिले आश्रममा ४९ जना आश्रित हुनुहुन्छ । त्यसै गरि सातै प्रदेशको १४ जिल्ला र १९ सेवाकेन्द्रहरुमा गरि १२०० जना सहयोगापेक्षीको उद्दार गरि आश्रमको छानामुनी राखेर लौरी स्वरुपको साहरा बनेर सेवा प्रदान गरिरहेका छौं । 

मानवीय सेवामा सहकार्यका लागि :

मानवसेवा आश्रमको बिराटनगर शाखा : ९८५५०७६०१५
साथै ९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्म गरि सातै प्रदेशमा रहेका सेवाकेन्द्रहरुमा समपर्क गर्न सक्नुहुनेछ ।