मानवसेवा आश्रम लमजुङ शाखाद्वारा महिनौदेखी अलपत्र भारतीय युवाको उद्धार


श्रावण ३२, २०७७ । लमजुङ जिल्ला बेसीशहर नगरपालिका - ७, मनाङे चौताराबाट एकजना सहयोगापेक्षी सडकआश्रित मानवको उद्दार गरि मानवसेवा आश्रम लमजुङ शाखामा ल्याइएको छ ।

चौतारा क्षेत्रमा बिगत ६ महिनादेखी सडकपेटीमा मागेर जीवन निर्वाह गर्दै आइरहेका शक्ति पदराय नाम बताउने अन्दाजी ३८ बर्षीय एक युवाको आइतबार उद्दार गरिएको हो । आफ्नो घर भारतको सिलगुढी बताउने युवालाई लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माज्यू सहितको टोलिले उद्दार गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले उहाँको पिसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट आएपछि आश्रममा ल्याइएको हो । मानसिक रुपमा कमजोर उहाँको उपचार पछी स्वास्थ्य अवस्था सामान्य भएपछी परिवारको खोजि गरिने र भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गरिनेछ भने नभेटिएको अवस्थामा आश्रममा नै राखेर लौरी स्वरूपको सहारा बनेर सेवा गरिनेछ ।

यस अघि पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्दै आएका १०० जना भन्दा धेरै बिदेशी नागरिकहरुको पारिवारिक पुनर्मिलन गरिएको छ जसमध्ये धेरैजसो भारत र केही बंगलादेश, चिन, पाकिस्तान लगायतका देशका रहेका छन् ।

उद्दारको लागि प्रमुख जिल्ला अधिकारीज्यू, वडा नं. ७ र ९ का अध्यक्षज्यूहरु, मानवसेवा आश्रमका अभियान्ता साथीहरु तथा अभिभावकज्यूहरुको उपस्थिति रहेको थियो ।

२०७३ सालमा लमजुङमा स्थापना भएको मानवसेवा आश्रमले हालसम्म उक्त शाखाबाट ७५ जना सडक मानवलाई सेवा दिसकेको छ, जसमा १६ जनालाई पारिवारिक पुनर्मिलन गराईको छ, ८ जनाको मृत्यु भएको भएको छ भने हाल आश्रममा २१ जना आश्रित हुनुन्छ ।

हाल देशको सातै प्रदेशमा विभिन्न २० वटा केन्द्रहरुमार्फत मानवसेवा आश्रम कसैको पनि संरक्षण नपाएको स्वयं आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको कार्यहरु गराउँदै आइरहेको छ । अहिले सबै सेवाकेन्द्रहरुमा गरि ११०० जना सहयोगापेक्षी मानिसहरु आश्रित हुनुहुन्छ ।