दुई दिनमा नारायणी अस्पतालमा बेवारिसे रहेका दुईजनाको उद्दार


१६ भदौ २०७७ । केही दिन अघि बीरगञ्जको नारायणी सामुदायिक अस्पतालमा जम्मा ३ जना व्यक्तिहरु बेवारिसे अवस्थामा रहेको समाचार विभिन्न समाचार एवं सामाजिक सञ्जालको माध्यमबाट भाईरल बनेको थियो । 



त्यसैक्रममा उक्त जानकारी मानवसेवा आश्रमको प्रदेश नं. २ बीरगञ्ज शाखामा आइपुग्यो । जानकारी अनुसार आश्रमको टिम अस्पताल परिसरमा पुग्दा तिनैजनाको अवस्था अत्यन्तै कष्टकर अवस्थामा रहेको थियो ।

तिनैजनाको अवस्था अत्यन्तै कमजोर देखेपछि आश्रमको टिमले उहाँहरुको सरसफाई एवं नुवाइधुवाइ ग¥यो । तर अवस्था अत्यन्तै कष्टकर भएको र अहिले विश्व नै कोरोनाको माहामारीबाट गुज्रीरहेको अवस्थामा उद्धार गरेर सिधै आश्रममा लैजाने अवस्था भएन । आश्रमले नै अभिभावकत्व लिएर नारायणी अस्पतालमा नै सामान्य उपचारपछी भाद्र १३ गते एकजना र १४ गते एकजना गरि दुई जनालाई उद्दार गरेर आश्रममा लिएर आएका छौं । थप एकजनाको अवस्था गम्भीर रहेकोले अस्पतालमा नै उपचाररत हुनुहुन्छ ।

एकजना वृद्ध व्यक्ति बीरगञ्ज नजिकैको कुनै क्षेत्रमा दुर्घटनामा परेको र प्रहरी प्रशासनले अस्पतालमा ल्याएर छोडेको तर अभिभावकत्व लिने कोही नभएकोले उपचार प्रक्रिया अगाडी नबढेपछि अत्यन्तै कष्टपूर्ण अवस्थामा पुगेको अस्पतालको सेवा लिन आउने व्यक्तिहरुले बताएका छन् । अन्य दुईजनाको पनि अवस्था अत्यन्तै जटिल रहेको थियो । कोरोनाको कारणले मानिसहरु नजिक जाने अवस्था नरहेकोले पनि उहाँहरुको सेवामा कठिन भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । आश्रममा ल्याइएका दुईजनाको नै कोरोना परिक्षण गरी नतिजा नेगेटिभ आईसकेको छ ।

अवस्था कमजोर रहेका एकजना सहित थप २ जना अहिले नारायणी सामुदायिक अस्पतालमा बेवारिसे अवस्थामा रही उपचाररत हुनुहुन्छ ।

मानवसेवा आश्रमको प्रदेश नं. २ बीरगञ्ज शाखामा अहिले आश्रमको क्षमता पुरा भईसकेको र उद्दार गरेर नयाँ व्यक्तिहरु ल्याउन नसकिने अवस्था रहेको छ । अहिले भाडामा रहेको घरमा क्षमता विस्तार गरेर थप संरक्षण गर्न नसकिने भएकोले ठुलो क्षमता भएको घरको खोजी भईरहेको र स्थानीय निकाय एवं प्रशासनमा अनुरोध पनि गरेका छौं ।