घरभित्र बाँधेर राखिएकी महिलाको उद्दार गर्न जाँदा विक्षिप्त अवस्थामा सडकपेटीमा रहेका पुरुषको पनि उद्दार


भाद्र १७, २०७७ । मनिसरा कामी १२ बर्ष अगाडीसम्म सुर्खेत जिल्ला बराहताल गाउँपालिकामा सामान्य परिवारमा रहनुभएको थियो । त्यतिबेला उहाँको बिहे भएर पारिवारिक वातावरणमा रमाइरहँदा लाग्दैनथ्यो उहाँमा मानसिक समस्या हुन सक्छ । पारिवारिक सम्बन्धपनि राम्रै चलेको थियो ।

अहिले ३४ बर्षीय उहाँको मानसिक रोगको समस्या भएको पनि १२ बर्ष भन्दा बढी भैसकेको छ । परिवारको भनाइ मान्ने हो भने उहाँको बिहे अगाडी नै मानसिक समस्या थियो । तर उपचार गराएर नियमित औषधी सेवन गरिरहनुभएको थियो, सामान्य जीवनयापन गरिरहनुभएको थियो ।

जब वातावरण सहज बन्दै थियो अचानक औषधी खान छोड्नुभयो र सुरुभयो जटिल अवस्था । सामान्य परिवार भएकोले उहाँलाई परिवारले पनि पूर्ण समय दिन सकेन । यसैको बीचमा १ जना छोरा र १ जना छोरीको जन्मपनि दिनुभयो । अहिले जेठो बच्चा ११ वर्ष भईसकेका छन् ।

अवस्था बिस्तारै झन् जटिल हुन थाल्यो । वातावरण असहज बन्न थाल्यो । उहाँ आक्रोसित हुने र असामान्य ब्यबहार देखाउन थाल्नुभयो । अवस्था झन् झन् जटिल हुँदै थियो ४ महिना अगाडी ७ फेरो लगाएर संगै जिउने संगै मर्ने कसम खाएका श्रीमानले साथ छोडेर स्वर्गे भए ।उहाँले पतिबियोगको अझ बढी असहजता महसुस गर्न थाल्नुभएको हुनुपर्छ, पहिले घरमा बस्ने महिला बिस्तारै कसैको ध्यान नदिने, नजिकमा कोही देखापर्यो भने हानिहाल्ने गर्नथाल्नुभयो ।

पहिले पनि आक्रोसित भएर लामो समयदेखी डोरीले बाँधेर राखिएको त थियो तर पछिल्लो समय छोडिदियो भने जंगलमा एक्लो रात बिताउने गर्न थाल्नुभयो घर परिवारबाट पूर्ण रुपमा टाढीन खोज्नुभयो । छोराछोरी अहिले उहाँको माइतीमा छन् भने उहाँ आफ्नै भाउजुको घरमा बसिरहनुभएको थियो ।

स्थानीय व्यक्तिहरुको पहलमा उहाँको स्वास्थ्यमा सुधार गर्नको लागि उद्दार गरेर यही भाद्र १५ गते मानवसेवा आश्रमको कर्णाली प्रदेश सुर्खेत शाखामा ल्याइएको छ । 

थप एक बेवारिसे व्यक्तिको उद्दार

मनिसरा कामीको उद्दार गर्नको लागि मानवसेवा आश्रमको टिम सहित सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाकी महिला तथा बालबालिका अधिकृत एंव मानवसेवा आश्रमको अभिभावक आदरणीय अनीता ज्ञवालीज्यू बराहताल गाउँपालिका जाँदै गर्दा करिब ३ महिना देखि बड्डीचौरको सडकपेटीमा फिरन्तै जीवन बिताईरहनुभएको आफ्नो नाम बताउन नस्कने अन्दाजी ३२-३४ वर्षीय पुरुषको पनि संगै उद्दार गरि मानवसेवा आश्रममा ल्याईएको छ।