आमा र बुबा दुवैले अर्को बिहे गरेपछि २ बर्षदेखी सडकमा जीवनयापन गरिरहेका ७ बर्षिय बालकको उद्दार


भाद्र १८, २०७७ । "माग्दै हिड्ने जहाँ पुगिन्छ त्यहीं रात बिताउने गर्छु" खासै राम्रोसँग बोल्न समेत नजानेका सात बर्षिय भिमराज लामाको भनाई हो यो । यो उनको रहर नभएर बाध्यता बनेको छ ।

आमाले सानैमा अर्को बिहे गरेर गइन् । केहि समयपछी बाबुले पनि अर्को बिहे गरे अनि बेपत्ता भए । रेखदेख गर्ने कोही भएन । अनि सुरुभयो गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा भेटिएका बालकको सडक जिन्दगी । उनि बिगत २ बर्षदेखी गोरखा नगरपालिका सहित आसपासको क्षेत्रमा यसै गरी गास, बास र कपासको जोहो गर्दै आइरहेका थिए । अबोध मुस्कान सहित आश्रममा आएपछि बालक बताउँछन् ।

भाद्र १७ गते गोरखा नगरपालिका - १० का वडाअध्यक्षसम्म यो बिषय आइपुग्यो र उहाँकै माध्यमबाट मानवसेवा आश्रमको गोरखा शाखासम्म । त्यसपछि अवस्था अध्ययन गर्न गएको आश्रमको टिमले सात बर्षिय नाबालकको उद्दार गरेर आश्रममा ल्याएको छ ।

मानवसेवा आश्रमले ति बाबुको बारेमा पारिवारिक पुनर्मिलनको लागि छेपेटारका स्थानीयहरुसँग बुझ्न खोज्दा ति बालक बिगत २ बर्षदेखी त्यसै गरि माग्दै हिड्छन जहाँ पुग्छन् त्यहीँ रात बिताउँछन् । कसैले घरमा वा सटरमा बास दिए त्यहीँ बस्छन् भने ब्यबस्थित ठाउँ नपाएमा सडक र सावर्जनिक स्थलमा नै रात बिताउने गर्छन् । अरु जानकारी छैन, उहाँहरुले भन्नुभयो ।

यस मानवीय उद्दारको सेवामा सहयोग गर्नुहुने तपाई सम्पूर्णमा धेरै धेरै साधुवाद । यो बाबुको परिवार खोजि दायित्व आत्मबोध गराउनको लागि सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।