घरबेटीले बनाइदिए छहारीविहीन, मानवसेवा आश्रमको संरक्षणमा, बुटवलमा एकैदिन ८ जनाको उद्दार


भाद्र २२, २०७७ । कोरोनाको संक्रमण देखाउँदै घरबेटीले घरबाट निकालिदिएपछि सहाराविहीन बनेका आमा छोरा सहित ८ जनाको उद्दार गरि मानवसेवा आश्रम प्रदेश नं. ५ रुपन्देही बुटवलमा राखिएको छ ।

आइतबार (हिजो) बुटवल उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ र मानवसेवा आश्रमको संयुक्त प्रयासमा यस कोरोनाको कहरले निम्त्याएको कठिन अवस्थामा बुटवलको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अस्तव्यस्त जीवनयापन गर्दै आइरहेका जम्मा ८ जना सहयोगापेक्षी सडकमानवहरुको उद्दार गरिएको हो ।

कोरोनाको कहरले सहयोगापेक्षी सडकमानवहरुको उद्दार गरेर सिधै आश्रममा ल्याई राख्दा अन्य व्यक्तिहरुमा पनि कोरोना संक्रमण फैलिने त्रास रहेको र मानवसेवा आश्रमको काठमाडौं उपत्यकाका सेवाकेन्द्रहरुमा केहि समय अगाडी अभियन्ता र लक्ष्मीनारायण सहित जम्मा १४ जनामा कोरोना संक्रमण देखिएकोले सुरुवाती अवस्थामा सडकको अवस्था अवलोकन गर्न र आवश्यकता महसुस भए उद्दार गरेर आश्रममा ल्याउने, सम्भव नभएको अवस्थामा अन्य बैकल्पिक उपाय अपनाई अन्यत्र ब्यबस्थापन गर्ने योजना सहित सडक अवलोकनको लागि जुटेका थियौं ।

तर अवस्था अवलोकनको सुरुवात गरेको बुटवल - ४ जेसिस चोकमा मानसिक एवं शारीरिक रुपमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्नुभएका ६८ बर्षीय वृद्ध र करिब २५ बर्षीय मानसिक रुपमा विक्षिप्त व्यक्ति देखेपछी उहाँहरुको उद्दार गर्यौं । त्यसपछि बुटवल - ५ हाटबजार लाइनबाट ३२ बर्षीय मनोरोगी महिला, ४८ बर्षीय असहाय महिला र उहाँको ८ बर्षीय छोरा, बुटवल ६ हस्पिटललाइनबाट एक जना ३८ बर्षीय मनोरोगी पुरुष, बुटवल-९ इट्टाभट्टी क्षेत्रबाट ४६ बर्षीय एक पुरूष, बुटवल-१० रामनगरबाट अन्दाजी ४० बर्षिय एकजना मनोरोगी महिला गरि जम्मा ८ जनाको उद्दार गरिएको छ ।

सम्पूर्ण ८ जनाको नै पिसिआर परिक्षण गर्नको लागि स्वाब लिएर पठाईसकिएको छ । अहिले उहाँहरुको नतिजा नआएको समयमा मानवसेवा आश्रमको पुरानो लाइसेन्स भवनमा रहेको सेवाकेन्द्रमा एउटा तल्ला खाली गरेर अन्य व्यक्तिहरुलाई जसोतसो ब्यबस्थापन गरेर त्यहीं राखिएको छ । नतिजा आइसकेपछि उहाँहरुलाई आश्रममा रहनुभएका आमाबुबासंगै राखिने छ ।  

अहिले मानवसेवा आश्रमको देशभरिका सातै प्रदेशको १५ जिल्लामा रहेका २१ वटा सेवाकेन्द्रहरुमा गरि १०५५ जना सहयोगापेक्षी लक्ष्मीनारायण तथा बालगोपालहरु आश्रित हुनुहुन्छ भने प्रदेश नं. ५ बुटवलमा दुईवटा घरहरु भाडामा लिएर सेवा संचालन भईराखेको छ जहाँ आजको दिनमा १३० जना आमाबुबाहरु हुनुहुन्छ ।