८ महिनादेखी बेखबर रहेका कृष्ण खत्रीको पुनर्मिलन, तरकारी बजार बन्यो कारण


कृष्ण खत्री काठमाडौंको मुलपानीमा परिवारसंगै बस्ने गर्दथे।  उनी सुस्त मनस्थितिका छन् तर काम भने आफ्नो शरीरको प्रवाह नगरी गर्ने गर्छन्। घरमा रहंदा घरको सबै काम गर्थे। मुलपानी बसपार्कको नजिकै रहने उनी त्यहाँ गाडीका चालक र सहचालक संग नजिकिन गए। सहचालकको काम पनि गरिदिने र तलब दिन नपर्ने सामान्य खाना, खाजा र उनले खोजेको खानेकुरा दिएपछि उनि गाडीको सेवामा जोडिए। 

मानवसेवा आश्रमले काठमाण्डौ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर निर्माण गर्नको लागि सडकपेटीमा रहेका सम्पूर्ण सहयोगापेक्षी मानवहरुको उद्दार गरिरहेको समयमा २०७६ साल फागुन १८ गते उनि पनि बालाजुको सडकमा बेवारिसे अवस्थामा भेटीए र पुगे मानवसेवा आश्रमको बालाजुमा रहेको स्क्रिनिंग सेन्टरमा। 

जन्मिदा नै टाउको सानो भएका उनी अहिले २६ बर्षका भए।  सामान्य अवस्थामा आफ्नो परिचय बाहेक परिवारका अन्य सदस्यको बारेमा विवरण नबताउने र बताएपनि गलत बताउने उनको स्वभावले गर्दा परिवारको सम्पर्क पाउने कुनै सम्भावना रहेन।  पुनर्मिलनको क्रममा उपस्थित हुनुभएका उनका काकाकै अगाडी परिवारका सदस्यको परिचय समेत उनको इच्छ्या अनुसार फरक फरक बताए।  भन्छन, "बाबाको नाम बाबा र आमाको नाम आमा"। 

काठमाण्डौमा रहेको स्क्रिनिंग सेन्टरमा दैनिक १२० जना देखि अझ बढी मानिसहरु उद्दार भईरहेको अवस्थामा बालाजुको स्क्रिनिंग सेन्टरमा ब्यबस्थापन कठिन भएपछी उनलाई मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुरमा स्थानान्तरण गरियो। तर रमाइलो पक्ष के भने यो वातावरण खुल्ला भएपछी उनमा थप सुधार आयो र पारिवारिक स्थितिको बारेमा थोरै थोरै खुल्न थाले, ठेगाना बताउन थाले। 

तर मानवसेवा आश्रमको तर्फबाट उनको पारिवारिक पुनर्मिलनको लागि सम्पर्क गर्न खोज्दा उनको परिवारको बारेमा ठेगाना बाहेक अरु थाहा पाउन सकिएन। त्यसपछि कोरोनाको कारणले लकडाउन भयो र उनको पारिवारिक पुनर्मिलन गराउने सम्भावना तत्कालको लागि हुन सकेन।

सेवा गर्न रुचाउने र खुल्ला बातावरणमा रमाउने उनलाई २०७७ साल असोज ३ गते तरकारी संकलनको लागि हेटौडा बजारमा अभियन्तासंगै लिएर जाने कुरा भयो।  आश्रमको उक्त निर्णय उनको परिवार सम्पर्क गर्ने सुनौलो अवसर बन्यो।  हेटौडा बजारमा उनको गाउँले दिदीसँग भेट भयो र परिवारसम्म जानकारी पुग्यो। 

त्यसपछि विभिन्न पत्रपत्रिका तथा टेलिभिजनबाट खोजीको लागि सुचना निकालिएपनि नभेटिएका उनि परिवारको सम्पर्कमा आए। र उनलाई लिनको लागि असोज ५ गते काठमाण्डौ देखी उनको आमाकी बहिनिको श्रीमान् ठाकुर बहादुर खत्री आए र लिएर गए अबदेखी पूर्ण रुपमा हेरचाह गर्ने र अब सडकमा नआउने प्रतिबद्दता सहित। भन्छन, "पत्रपत्रिका तथा टेलिभिजनमा सुचना दिंदा पनि सम्पर्क हुन सकेन, समय समयमा घर छोड्ने तर २/३ दिनमा फर्केर आउने गर्ने भएकाले त्यति धेरै ध्यान दिईएन तर यो पल्ट धेरै समय भएकाले सुचना जारी गरिएको थियो"।