घर हुँदाहुँदै पनि सहयोगापेक्षी, परिवारका अन्य सदस्य नभएपछी मानवसेवा आश्रम पोखरा शाखामा


स्याङ्गजा जिल्लाको चापाकोट गाउँपालिका - ४ मा एकजना युवा शारीरिक तथा मानसिक रुपमा कमजोर भएर एकै ठाउँमा बसेको ४ बर्ष जस्तो भयो । उनि अहिले बसिरहेको ठाउँ आफ्नै घर हो ।

आफ्नै घरमा बसेको छ, बिहान र बेलुका खाना खाइरहेको छ भने उ कसरी सहयोगापेक्षी भयो भन्ने प्रश्न उठ्नु सामान्य हो । तर जब उसले बसेको घर र खाएको खाना अरुको साथ र सहयोग बिना सम्भव छैन, आत्मनिर्भर छैन भने उ वास्तममा सहयोगापेक्षी हुन सक्छ ।

यसैको एक उदाहरण हुन् ति युवा । आफ्ना परिवारका सदस्य धेरै समय अगाडी उनलाई अहिले नै बसिरहेको घरमा छोडेर एक्लो बनाएर गएपछि उनले सकुन्जेल काम गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए । तर विगत केही समयदेखी उनि शारीरिक साथै मानसिक रुपमा कमजोर भएपछी आफ्नो जोहो समेत गर्न नसक्ने भए । त्यसपछि छिमेकी मध्ये पालो गरेर सबैजना उनको जीवन निर्वाह गर्दै आइरहेका थिए ।

परिवारका सदस्य पनि कोही नभएपछी र शारीरिक तथा मानसिक रुपमा कमजोर भएपछी स्थानीय व्यक्तिहरु र चापाकोट - ४ का वडा अध्यक्ष विक्रम बहादुर सारु र वडा सदस्य श्री तिलक बहादुर खाणको सहयोगमा उद्धार गर्नको लागि मानवसेवा आश्रमको पोखरा शाखाबाट अवस्था अवलोकन गर्नको लागि त्यस स्थानमा पुग्यौं । त्यहाँ पुग्दा अवस्था अत्यन्तै नराम्रो देखेपछी उद्धार गरेर असोज १८ गते पोखरा शाखामा ल्याएका छौं ।

उहाँलाई उपचार गरेपछि सामाजिक पुनर्स्थापना गर्न सकिने कुरालाई महसुस गरेका छौं । 

उद्धारको क्रममा मानवसेवा आश्रम परोपकारी नेपाली मनहरुको मुठ्ठीमुठ्ठीमा सन्चालन हुँदै आएको थाहा पाएपछि त्यहाँ रहेको चक्रदेवि आमा समुहबाट रु.५,०००/- (अक्षेरुपी पाँच हजार रुपैयाँ मात्र) हजार सहित स्थानिय बासिले गरेर जम्मा नगद रु. १०,२००/- (अक्षेरुपी दश हजार दुईसय मात्र) स-प्रेम हस्तान्तरण गर्नुभएको छ ।