युद्धबाट ज्यान बचाउन भारतमा शरणार्थी बनेका बंगलादेशी नागरिकको उद्धार, उद्धारको एकहप्तामा क्यान्सरले निधन


​मानसिक तथा शारीरिक रुपमा कमजोर एकजना बंगलादेशका नागरिकको नेपालमा उद्धार गरिएको थियो । तर असोज १८ गते उद्धार गरेर आश्रम ल्याइएको उहाँको असोज २४ गते क्यान्सर रोगको कारणले निधन भएको छ ।

आफ्नो स्थायी घर बंगलादेश भएको र बंगलादेशमा युद्ध भएको समयमा आफ्नो ज्यान बचाउनको लागि भागेर भारत छिरेको र केही समय भारतमा रहेपछि वि.स २०३६ सालमा नेपालमा प्रवेश गरेको बताउने उहाँको उमेर अन्दाजी ७२ बर्षको रहेको थियो ।

बंगलादेशमा ज्यान बचाउनको लागि भाग्ने क्रममा आफ्नो परिवारका सदस्यको रुपमा रहनुभएका दिदी भिनाजु र भान्हाभान्जीहरुसँगको सम्पर्क टुटेको र बिगत २ वर्षदेखी आश्रयरत संस्थामा अस्वाभाविक ब्यबहार देखाउने र सम्हाल्न कठिन भएपछी दमक नगरपालिकाको उप-प्रमुख आदरणीय गीता अधिकारीज्यूको पहलमा उद्धार गरि मानवसेवा आश्रम प्रदेश नं १ बिराटनगर शाखामा ल्याइएको थियो ।

उहाँको दुवै आँखा र निधारको भाग कुहिएको अवस्थामा रहेको थियो भने उपचार गर्दा स्वास्थ्य संस्थाले उहाँलाई क्यान्सरको अन्तिम अवस्थामा पुगेको बताएको थियो ।

मानवसेवा आश्रमले यसअघि पनि नेपाल बाहिरका १०० जनाभन्दा धेरैको पारिवारिक पुनर्मिलन गरिसकेको छ जसमध्ये बंगलादेशका लागि नेपाली राजदूतावासको समन्वयमा २ जना बंगलादेशका व्यक्तिहरुको पारिवारिक पुनर्मिलन सफल भएको थियो ।