सामाजिक विकास मन्त्री बरालले मनाए दशैँ मानवसेवा आश्रममा


कार्तिक १०, २०७७ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री शुदर्शन बरालज्यूले यस बर्षको दशैँ मानवसेवा आश्रममा मनाउनु भएको छ । अघिल्लो वर्ष पनि मन्त्रीज्यूले पुर्णिमाको दिन मानवसेवा आश्रममा उपस्थित भएर दशैं मनाउनु भएको थियो ।

बिजया दशमीको टिका दिन मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को लुम्बिनी प्रदेश रुपन्देही बुटवलमा रहेको सेवाकेन्द्रमा माननीय मन्त्रीज्यू सहित धर्मपत्नी लिला कुमारी बरालज्यू र छोरी मुना बरालज्यू उपस्थित हुनुभएको थियो । उहाँले आश्रमको गरिमा बढाईरहनुभएका लक्ष्मीनारायण तथा बालगोपालज्यूहरुलाई दशैंको टिका लगाएर आशिर्वाद दिँदै यस वर्षको विजया दशमी मनाउनु भएको हो ।

मानवसेवा आश्रमको रुपन्देहीमा सेवा सुरुवात हुँदा देखी नै अभिभावकीय कर्तब्य निर्वाह गर्दै आइरहनुभएका मन्त्री बरालले त्यसपछि विभिन्न समयमा आश्रमको लागि आवश्यक साथ दिँदै र सहयोग गर्दै आइरहनुभएको छ ।

मन्त्री बरालले आफ्नो र आफ्नो परिवारका सदस्यहरुको जन्मदिन, विवाह बर्षगाँठ लगायतका विशेष अवसरमा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहनुभएको छ भने व्यक्तिगत र मन्त्रालयका तर्फबाट आवश्यक पर्ने हरेक प्रकारका सहयोग प्रदान गर्दै आइरहनुभएको छ ।

लुम्बिनी प्रदेशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्नको लागि भाडाको घरमा सम्भव नहुने भएकोले आश्रमको आफ्नै भौतिक संरचना निर्माणको लागि मन्त्रालयले यस आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गर्दै संरचना निर्माण कार्यलाई अगाडी बढाउन माननीय मन्त्रीज्यूको तर्फबाट उल्लेख्य अभिभावकत्व प्राप्त हुँदै आइरहेको छ ।

मानवसेवा आश्रमको लुम्बिनी प्रदेश शाखा रहेको बुटवल उपमहानगरपालिका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त उपमहानगरपालिका घोषणा गर्दा मन्त्रालयको तर्फबाट हुनसक्ने सम्मको साथ प्रदान गर्नुभएको थियो भने अब छिट्टै लुम्बिनी प्रदेशलाई नै सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त निर्माण गर्न गर्दै औपचारिक रुपमा घोषणाको लागि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै विजयादशमीको कार्यक्रममा मानवसेवा आश्रमको महासचिव एवं लुम्बिनी प्रदेश संयोजक शुशिला केसी (रुपा) ज्यूको साथै अभिभावकहरु लोकनाथ भुषालज्यू, शेरबहादुर गौतमज्यू, दुर्गा पाण्डेज्यू, कृष्ण पंगेनीज्यू, दिव्या पंगेनीज्यू लगायतको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले वि.स २०६९ सालदेखी सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित रहँदै २०७८ सालको अन्त्यसम्ममा देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश निर्माण गर्ने महाअभियान सहित अगाडी बढ्दै आइरहेको छ । मानवसेवा आश्रमको देश भरि रहेका १४ जिल्लाका २० वटा सेवाकेन्द्रहरुमा ९२४ जना विभिन्न उमेरसमूहका सहयोगापेक्षी सडकआश्रित मानवहरु हुनुहुन्छ भने रुपन्देही शाखामा ११० जना लक्ष्मीनारायण तथा बालगोपालहरु आश्रित हुनुहुन्छ ।