९ महिनादेखी संगालेका आँशु आज पोखिए, भयो सुन्दर पारिवारिक पुनर्मिलन, आश्रम नै बन्यो भावविह्वल


"नाम फुलमती देवी (सैधवार), आयु ५५ साल, ठेगाना कुशीनगर जिल्ला, उत्तरप्रदेश, भारत"

माथि लेखिएको विवरण भारत कुशीनगर जिल्ला उत्तरप्रदेश घर भई शिवरात्रीको अवसरमा नेपालको पशुपती मन्दिरमा दर्शन गर्न आउनुभएको एकजना महिलाको हो जसलाई हामी आमा भनेर बोलाउने गर्दछौं । आमा यसकारणले पनि कि उहाँ उमेरमा आश्रमको सबै अभियन्ताहरुभन्दा ठुलो उमेरको हुनुहुन्छ । यसकारणले पनि कि समय समयमा बोल्ने र बोलाउने अनि ख्याल गर्ने गर्नुहुन्छ । 

उहाँ नेपाली होइन, न मानवसेवा आश्रमले भेटाउदा उहाँसँग कुनै परिचय खुल्ने कागज थियो, न नेपाली भाषा नै बुझ्नुहुन्छ तर पनि मानवसेवा आश्रमले यस्तै प्रकृतिका अभिभावकबिहीन, बेसहारा, सडकआश्रित मानवहरुको उद्दार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलन गराउंदै आएको हुनाले उद्धार गर्यौं । उद्धारको समयमा केहि समय बाहिर सडकमा रहेकोले होला हातखुट्टाहरु सामान्य भन्दा सुन्निएर ठुला भएका थिए । उहाँको लागि त्यस्तो फरक किसिमको उपचारको आवश्यकता परेन, सामान्य उपचार गर्यौं । परामर्श समय समयमा र त्यहि परामर्श सँगै एउटा फेसबुक भिडियो जसले पारिवारिक पुनर्मिलन सम्भव गराइदियो । उक्त भिडियो शेयर गरेर उहाँको परिवार खोज्न सहयोग गर्नुहुने तमाम नेपाली मात्र होइन सम्पूर्ण मानवताप्रेमी हजुरहरुलाई धेरै धेरै साधुवाद अर्पण गर्दछौं ।

यसरी हराउनुभयो ः

उहाँ पशुपती मन्दिरमा शिवरात्रीको अवसर पारेर दर्शन गर्नको लागि आफ्नो श्रीमान् रामानन्द सिंह र देवरसँग आउनुभएको थियो । दर्शनको लागि केहि पुजा सामग्रीहरु लगायत आवश्यक सामग्रीहरु खरिद गर्नको लागि उहाँलाई एउटा ठाउँमा त्यहि बस्न अनुरोध गर्दै श्रीमान् र देवर पसलतर्फ लाग्नुभयो । ५ मिनेटपछी फर्केर आउँदा फुलमती देवी पहिलेको ठाउँमा हुनुहुन्थेन अनि हराउनुभयो । हराएको समयमा उहाँसँग ९०० रुपैयाँ र मात्र भारतको आधार कार्ड साथमा थियो । तर आफु बसेकै ठाउँमा श्रीमान र देवरले छोडेको झोलामा उक्त सामान राखेर आमा बिछोड हुनुभएछ अनि साथमा केहि रहेन । त्यसपछि उहाँ कसरी कसरी भक्तपुर पुग्नुभएछ । त्यहीबाट मानवसेवा आश्रममा आइपुग्नुभयो मिति २०७६ फागुन १८ गते, शिवरात्रीको ९ दिनपछी ।

आजको दिनसम्म आमा मानवसेवा आश्रमको संरक्षणमा हुनुहुन्थ्यो । काठमाण्डौमा उपत्यकामा वृहत अभियान चलेको हुनाले ठाउँ अभाव भएपछी मानवसेवा आश्रमको मुख्य कार्यालयमा आइपुग्नुभयो अनि सघाउन थाल्नुभयो सबैलाई, हेरचाह र एउटा पारिवारिक माहोल बनाउनुभयो ।

यसरी सम्भव भयो पारिवारिक पुनर्मिलन:

२०७७ कार्तिक १९ गते बेलुका ५ बजेतिर मानवसेवा आश्रमका प्रदेश नं २ संयोजक यतिबेला विशेष सेवाले मुख्य कार्यालयमा रहनुभएको बेला एउटा भिडियो फेसबुक लाइभमा राख्नुभयो । उक्त भिडियो ६ हजार भन्दा धेरैले शेयर गर्नुभयो भने ११६ हजार भन्दा धेरैले हेर्नुभयो । त्यो भिडियो हेर्ने तमाम व्यक्तिमध्ये एकजना रुपन्देही निवासी पुर्व शिक्षक निधिलाल असान हुनुहुन्छ जसले यो पुनर्मिलन सम्भव गराउनुभयो । आमा हराएपछि उहाँको गाउँबाट खोजीको लागि पम्प्लेट बनाएर बुटवलको पसलपसलमा बाड्न आउनुभएको रहेछ, उहाँहरुले सम्पर्क नम्बर आदानप्रदान गर्नुभयो । भिडियो हेरिसकेपछि उहाँहरुबीच पुन: सम्पर्क भयो त्यो पनि ८ महिनापछी अनि पारिवारिक पुनर्मिलन सम्भव भयो ।

आमा लिन रातिको यात्रा गरेर बिहान आश्रममा, खुसीका आँशु सहितको रुवाबासी

उहाँको सम्पर्क पाइसकेपछि परिवारको तर्फबाट जेठो छोरा अवधेश कुमार सिंह, जेठो भाई जयराम सिंह र भतिजा मार्कन्डे सिंह सहित यस पुनर्मिलन कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निधिलाल आसान आज बिहान आश्रमको प्राङ्गणमा आइपुग्नुभयो । करिब ४५० कि.मि को यात्रा पश्चात आमाको सुन्दर मुहार देखेर छोराले आँशु नै थाम्न सकेनन् अनि आमासँग अँगालो मारेर खुसीका आँशु भुइमा झारे, नरोउ छोरा भन्ने कोही थिएनन् किनकी यी थिए ९ महिना पछी भेटिएकी आमाको लागि भेटिने आशामा ९ महिना नेपालको विभिन्न स्थानमा संगालेका आँशु ।

आमालाई लिन आएका परिवारका सदस्य मात्र ३ जना हुनुहुन्थ्यो तर घरमा आमाको जानकारी सुनेर वृहत पार्टीको तयारी गर्न थप परिवार स्वागतको लागि तयार छ । भिडियो कलमा आमासँग स्वागतका लागि तयारी रहेको जानकारी दिन भाई जयरामले घरमा भिडियो कल गराए । त्यसमा खुसी साटासाट गरे आज राति नै भेट्ने र खुसी मनाउने विश्वास अनि प्रतिबद्दता सहित ।

मानवसेवा आश्रमको तर्फबाट आमा सहित सम्पूर्ण परिवारलाई बधाई भन्न चाहन्छौं, जसले हजुरहरुलाई यो संसार देखाउनुभयो उहाँको खोजीको लागि हजुरहरुले देखाउनुभएको प्रयास आज सफलतामा परिणत भएको छ ।