सहयोगापेक्षी सडकमानवहरुको दिगो व्यवस्थापनको लागि स्थाई भवन बनाउँदै काठमाडौं महानगर


काडमाडौं महानगरपालिका भित्र कोही भोकै नरहुन्, भोकले कोही नमरुन् भन्ने भावनालाई आत्मसाथ गरी धर्मभक्त माथेमा माहानगर मानवसेवा आश्रम निर्माण हुने भएको छ । उक्त भवनको निर्माण भइसकेपछि ३०० जना काठमाडौं महानगर सडकपेटी एवं सार्वजनिक स्थहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुले एक पटकमा सेवा लिन सक्नेछन् । 


करिब ७ करोड अनुमानित लागत रहेको भवनको निर्माण खर्च काठमाडौं नगरपालिकाले बेहोर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यज्युले बताउनु भएको छ । उहाँले काठमाडौं महानगरपालिका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको मानवोचित व्यवस्थापन सन्दर्भमा अत्यन्त संवेदनशिल रहेको बताउनु भएको छ । 


फरक सन्दर्भमा बोल्दै उहाँले हाल खुला मञ्चमा सञ्चालन भइरहेको भोजनवितरण कार्यक्रमलाई व्यवस्थित र सम्मानजनकर बनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्न चाहेको भएपनि बाहीर फरक किसिमको हल्ला चलेको बताउँदै महानगरभित्र वास्तविक सहयोगापेक्षी भेटीय तत्काल व्यवस्तापन हुने बताउनु भएको छ ।  


शुक्रबार काठमाडौं महानगरपालिका, तारकेश्वर नगरपालिका र मानवसेवा आश्रमवीच त्रिपक्षीय बैठक सम्पन्न भई मानवसेवा आश्रमको स्थाई भवन निर्माण गर्ने निर्णय भएको हो । काठमाडौं महानगरपालिका र परोपकारी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रमले हाल काठमाडौंका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनका कार्यहरु गराउँदै आइरहेको छ । 


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यज्युको सभाअध्यक्षतामा भएको बैठकमा तारकेश्वर नगरपालिकाका मेयर  रामेश्वर बोहोराज्यु, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यु, दुवै पालिकाका प्रशासकिय प्रमुख, विभागीय प्रमुखहरु र प्राविधिकहरु, तारकेश्वर नगरपालिका ३ नं. वर्डा कार्यालयका वडा अध्यक्षज्यु, लगाएतको उपस्थिति रहेको थियो । 


वैठकले तारकेश्वर नगरपालिका ३ नं. वडामा (साविक जितपुरभेदी ४) मा मानवसेवा आश्रमको स्थाई भवन (धर्म भक्त माथेमा महानगर मानवसेवा आश्रम) निर्माण गर्ने निर्णग गरेको हो । 


काठमाडौं महानगरपालिका कानुन विभागका निर्देशक बसन्त आचार्यज्युले सञ्चालन गर्नुभएको बैठकमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यु, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराज्यु र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युले गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य ई. सजिव शाक्यज्युले निर्माण हुने भवनको प्रस्तावित ड्रईङ र डिजाई प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रम सञ्चालक बसन्त आचार्यज्युले तीन पक्षबीच हुने सहकार्यको खाँका प्रस्तुत गर्नुभएको छ ।