मानवसेवा आश्रम चितवन शाखाको २०७६/०७७ को प्रगति प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन सार्वजनिक


मङ्सिर १४, २०७७ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) चितवन शाखाले २०७६/०७७ सालको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

१ बर्ष अगाडी भरतपुर महानगरपालिकाको सडकमा बेवारिसे अवस्थामा भेटिएकी मनोरोगी महिलाबाट आश्रममा नै जन्म लिएका बाबु असल मानवको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको मानवसेवा आश्रमका केन्द्रीय महासचिव शुशिला केसी (रुपा) ले जानकारी गराउनुभयो ।

२०७२ साल मङ्सिर ७ गते देखी मानवसेवा आश्रमको पहिलो शाखाको रुपमा बिस्तार भएको चितवन शाखाले हालसम्म ५८२ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमध्ये १६७ जनाको उपचार पछी सफल पारिवारिक पुनर्मिलन गरिएको र २१७ जनाले उपचारपछी आफ्नो जिम्मेवारी आफैले निर्वाह गर्न सक्नेगरि स्वेच्छाले आश्रमबाट स-सम्मान बिदाई हुनुभएको छ ।

यस्तै २०७६ साल कार्तिक ९ गते भरतपुर महानगरपालिकामा कोही पनि व्यक्ति भोकै र नांगै रहन नपर्ने अवस्था निर्माण गर्दै आइहाले पनि तुरुन्तै उद्धार कार्य गर्ने संयन्त्र विकास गर्दै सडक मानवमुक्त देशकै पहिलो महानगरपालिका घोषणा गरिएको थियो । त्यसपश्चात २४५ जनाको उद्धार गरियो भने ७७ जनाको पारिवारिक पुनर्मिलन, १८ जना स्वर्गीय, ७९ जनाले आश्रम छोडेको र १०८ जना आश्रममा नै आश्रित हुनुहुन्छ ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आश्रमको भौतिक संरचना निर्माण गर्नको लागि २०७७/७८ को आर्थिक वर्षमा रु. ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको चितवन जिल्ला संयोजक निता केसीले बताउनुभयो ।

कार्यक्रममा जी.प्र.का चितवनका एसपी नान्तिराज गुरुङ, जिल्ला प्रशासन कार्यालय चितवनको तर्फबाट श्यामसुन्दर ढकाल, आश्रमको भौतिक संरचना निर्माणको लागि भरतपुर - ३, बेलचोकमा जग्गा प्रदान गर्नुहुने अभिभावक प्रेम श्रेष्ठ, उद्धयोग बाणिज्य संघको तर्फबाट रजनी मास्के, महिला शसक्तिकरणको तर्फबाट संगीता भट्टराई, अभिभावकहरु प्रेमप्रभा अधिकारी, ओमकार कंडेल, संजय बराल, मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, केन्द्रीय सदस्य उमा भण्डारी लागायतको उपस्थिति रहेको थियो ।

यस्तै आश्रमले २०७६ श्रावण १ गतेदेखि २०७७ असार ३१ गतेसम्मको जम्मा आय व्यय ८६,९१,७५०/- रुपैयाँ रहेको जनाएको छ । यसमध्ये घरबहाल अन्तर्गत रु. ८,५७,११२/-, औषधी उपचार तर्फ रु. ५,८१,९५९/-, खाद्यान्नतर्फ रु. ५,९४,७६२/- सेवा खर्च रहेको छ ।

मानवसेवा आश्रमले २०७८ सालको अन्त्य सम्ममा देशका सडकपेटीमा कोहीपनि मानिस भोकै र नांगै नरहने वातावरण निर्माण गर्दै देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने प्रतिबद्दता सहित सेवामा समर्पित रहेको छ । हाल मानवसेवा आश्रमका देशभरि रहेका १६ जिल्लाका २२ वटा सेवाकेन्द्रहरुमा गरि ११०० जना विभिन्न उमेर समुहका सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित छन् ।