१२ बर्षपछि थोत्रो त्रिपालमुनीको कष्टपूर्ण जीवनबाट उन्मुक्ति पाए श्रवण लक्ष्मीले


१२ बर्षपछि थोत्रो त्रिपालमुनीको कष्टपूर्ण जीवनबाट उन्मुक्ति पाए श्रवण लक्ष्मीले 

१२ बर्षदेखी बुढीगंगा गाउपालिका वार्ड नं. २ मा खोलाको बगरमा त्रिपालमुनी रात विताउन विवश श्रवण र लक्ष्मीलाई मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडाले संरक्षणमा लिएको छ । 
जाइन्ट ट्युमरको कारण क्यान्सर भएकी लक्ष्मी प्यारालाइसिसको समेत सिकार भएकी थिइन । दिसापिसावको सरसफाई प्याड समेत अरुले नै परिवर्तन गराइदिनुपर्ने लक्ष्मीको जीवन कथा अनलाईन खबरमा छापिएपछि मानवसेवा आश्रमले उद्दारको लागि पहल गरेको थियो । 

अनलाई खबरमा प्रकाशित यो स्टोरीपनि पढ्नुहोस् । 


स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवीहरुको उपस्थितीमा लक्ष्मी र श्रवणलाई उद्धार गरि मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर, हेटौंडामा ल्याइएको हो । करिब १२ बर्षदेखी खुला आकाशमुनी कष्टपूर्ण जीवनयापन गरिरहेको श्रवण लक्ष्मी बुढिगंगाको खोलाको बगरमा बस्न थालेको भने करिब ३ बर्ष भएको स्थानियहरु बताउछन् । 


बर्षौ कयौं समस्या र अभावसँग मुकाविला गर्दै खुला आकाशमुनी थोत्रो त्रिपालभित्रको कष्टप्रद जीवन विताएका श्रवण र लक्ष्मीको दिनचर्याबारे अनलाईन खबरले स्टोरी बनाएपछि भने सबैको ध्यानाकर्षण भएको थियो । समाचार पढेरै मन्त्री गोकर्ण विष्टले समेत उपचारको लागि २० हजार रुपैया व्यक्तिगत सहयोग गर्नुभएको छ । 



ट्युमर निकाल्न शल्यक्रिया गर्न समेत धेरै जोखिम हुने विराट मेडीकल कलेजका चिकित्सकहरुले बताएका छन् । 
श्रवण लक्ष्मीको उद्धारको लागि मानवसेवा आश्रमका केन्द्रिय सदस्य पर्सा जिल्ला संयोजक देवेश गुप्ता र स्वयंसेवक संतोष नेपाल र सुरज कुश्वाहा वीराटनगर पुगेका थिए ।