प्रदेश १ मा २५४ जनाको उद्धार, विराटनगर महानगरपालिका सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा


सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनलाई केन्द्रमा राखी सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा बर्ष २०७८ लाई सफल पार्न मानवसेवा आश्रमले आयोजना गरेको मेची महाकाली यात्रा अन्तर्गत  मोरङबाट आज ६७ जनाको उद्धार गरिएको छ । यो सहित प्रदेश नं. १ बाट २५४ जनाको उद्धार भएको छ ।  


मेची महाकाली यात्रा अन्तर्गत प्रदेश नं. १ खण्डको कार्यक्रमको संयोजन सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश सरकारले गरेको थियो भने झापाको सुरुङ्गामा कन्काई नगरपालिका, सुनसरीमा ईटहरी नगरपालिका र मोरङमा वीरटनगर महानगरपालिकाले कार्यक्रमको व्यवस्थापन गरेको थियो ।


१ नं. प्रदेश खण्डको विराटनगरमा आयोजना भएको कार्यक्रममा १ नं. प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश निर्माण गर्न मोरङ जिल्ला ग्रामथान गाउँपालिकामा जग्गाको व्यवस्थापन भई आश्रमको भवननिर्माणको लागि मन्त्रालयले यसै आ.व.मा खर्च गर्नेगरी १ करोड रुपैँया विनियोजन गरिएको बताउँदै सबैको सहयोगबाट ६ महिनाभित्रै भवननिर्माण कार्य सम्पन्न गर्ने उद्योेष गर्नुभएको छ । 


कार्यक्रममा विराटनर नगरपालिकाका प्रमुख भिम पराजुलीले सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता महानगरपालिकालाई भएको सन्दर्भमा मानवसेवा आश्रम भगवानको रुपमा प्रस्तुत भएको बताउनुभएको र यसले गर्दै आइरहेको कार्य अत्यन्त प्रशसंनीय रहेको बताउँदै यस मानवीय सेवाको कार्यमा वीराटनगर नगरपालिकाको निरन्तर सहयोग रहने विश्वास दिलाउनुभयो ।  उहाँले मानवसेवा आश्रमले सुभारम्भ गरेको महाअभियानमा सहयोगी हुन पाउँनु आफ्नो लागि 
अहोभाग्य भएको बताउँदै विराटनगरक्षेत्रभित्र भेटीने सहयोगापेक्षीहरुको मानवोचित व्यवस्थापनको लागि विराटनगरक्षेत्रमै मानवसेवा आश्रमको भवननिर्माणको लागि महानगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । 


कार्यक्रमको समापनमा माननीय सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकका प्रमुख भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला लगायतले मेची महाकाली अभियानका यात्रीहरुलाई विदाई गर्नुभएको छ । भोलि पौष १२ गते २ नं. प्रदेशको राजविराजमा र १३ गते लहानमा कार्यक्रम हुनेछ ।