राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट ४७ जना सहयोगापेक्षी सडकमानवको उद्धार


पौष २७, सोमबार | लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाबाट ४७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।
सडकमानवहरुको राष्ट्रिय उद्धारका लागि लुम्बिनी प्रदेशमा आइपुगेको मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को टोलीले सुरुवाती ३ दिनमा रुपन्देही जिल्लाबाट जम्मा २५ जना, कपिलवस्तुबाट १३ जना र नवलपरासीबाट ९ जना गरि जम्मा ४७ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये रुपन्बादेहीबाट ३ जना महिला, १४ जना पुरुष र ८ जना बालबालिका रहेका छन् । त्यस्तै नवलपरासीबाट १ महिला र ८ पुरुष, कपिलवस्तुबाट ६ महिला, ६ पुरुष र १ बालक रहेका छन् ।
सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म जम्मा ५१५ जना सहयोगापेक्षी मानिसहरुको उद्धार भएको छ । जसमा १२२ महिला, ३५४ पुरुष र ३९ बालबालिका रहेका छन् । अनाथ रहेका १६ वर्षभन्दा कम उमेर समुहका बालबालिकालाई नेपाल सरकार गृह मन्त्रालय बालबालिका खोज तलास समन्वय केन्द्रले जिम्मेवारी लिएर व्यवस्थापन गरेको छ ।