मेची महाकाली यात्रा सहजताका लागि घोराही उपमहानगरपालिकाको एक लाख सहयोग


पौष २९ गते, बुधबार । सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम मेची महाकाली यात्रालाई सहज बनाउन घोराही उपमहानगरपालिकाले रु. १ लाख सहयोग गरेको छ ।

सडकपेटी र सार्वजनिक स्थलमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका मानिसहरुको उद्धारको लागि मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले पूर्वको मेची देखि सुरु भई पश्चिम महाकालीसम्मका सडकमा रहेका मानिसहरुको उद्धार गर्ने अभियान सन्चालन गरिरहेको छ ।

यसै क्रममा उद्धारको लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा उद्धार टोलि आइपुगेको बेला सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको अनुरोधलाई स्वीकार गर्दै उक्त सहयोग गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

यस्तै "घोराही उपमहानगरपालिका यस अगाडी नै सडकमानवमुक्त घोषणा भएपनि सडकमा मानिसहरु नरहने भन्ने हुँदैन । तर व्यवस्थापन गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामी उद्धारको लागि तयार छौं ।" उप प्रमुख सिता सिग्देल न्यौपानेले बताउनुभयो ।

मानवसेवा आश्रमले सुरुवात गरेको यस मेची महाकाली अभियानको क्रममा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशसम्म आइपुग्दा आजसम्म ५२१ जनाको उद्धार भएको छ । जसमध्ये १२५ जना महिला, ३५७ जना पुरुष र ३९ जना बालबालिका हुनुहुन्छ ।

मानवसेवा आश्रम वि.स २०६९ सालदेखी सुरु भएर आजको दिनमा १५ जिल्लाको २२ ठाउँमा सेवाकेन्द्रहरु सन्चालनमा छन् जसमा १४०० जना विभिन्न उमेरसमुहका सडकआश्रित मानवहरु रहनुभएको छ ।