"सहयोगापेक्षी सडकमानवमुक्त उपमहानगर निर्माण गर्न मानवसेवा आश्रमसँग सहकार्य गर्छौं" - मेयर, तुल्सीपुर उपमहानगर


पौष २९ गते, बुधबार । मानवसेवा आश्रमसँग सहकार्य गरेर तुल्सीपुर उपमहानगरपालिकालाई चैत्र मसान्तसम्ममा सहयोगापेक्षी सडकमानवमुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि तुल्सीपुर उपमहानगरपालिका तयार रहेको उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताउनुभएको छ ।

सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम मेची महाकाली यात्रा अन्तर्गत तुल्सीपुर आइपुगेको मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को टोलिसँग अन्तरक्रिया गर्दै नगर प्रमुखज्यूले यस्तो भनाई राख्नुभएको हो ।

उपमहानगरपालिकाले आफ्नो तर्फबाट सडकमा रहेको मानिसहरुको उद्धारका लागि प्रयास गरिरहेको र यहाँ मानवसेवा आश्रमले आफ्नो सेवा केन्द्र बिस्तार गरे सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनुभएको छ ।

यस्तै सडकमा मानिसहरु आउने प्रमुख कारण सानो उमेरमा बिबाह पनि भएकोले आफ्नो तर्फबाट छोरीहरुको बिबाह २० बर्षपछी मात्रै गराउन "स्मार्ट छोरी बिहे बारी २० बर्ष पारि" योजना अगाडी ल्याएको र छोरी जन्मिए अनिवार्य बैंक खाता खोल्नुपर्ने र उपमहानगरपालिकाले उनीहरुको शिक्षाको लागि नियमित रकम जम्मा गरिदिने समेत गरेको बताउनुभयो ।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीको भनाईलाई उद्दृत गर्दै सडकमा मानिसहरु आउनुको कारण अहिलेको शिक्षा पद्धति, संचार माध्यम, समाज, आर्थिक र राजनीतिक ब्यबस्था रहेको र यसको ब्यबस्थापनको लागि दया, माया, करुणाको पढाई हुने मानवीयताको बिधालयको लागि समेत सहकार्य गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको उपमहानगर प्रमुखले घोषणा गर्नुभयो ।