झापादेखी बर्दियासम्म ५२८ सहयोगापेक्षी सडकमानवको उद्धार


माघ २ गते, शुक्रबार । सडकपेटी र सार्वजनिक स्थलमा अत्यन्तै कष्टकर जीवनयापन गर्दै आएका ५२८ जना सहयोगापेक्षी सडकमानवको उद्धार भएको छ । पूर्वको झापा देखि सुरुवात भएको मेची महाकाली राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको बर्दियासम्म आइपुग्दा सडकआश्रित ५२८ जनाको उद्धार भएको हो ।

पौष र माघ महिनाको चिसोमा कसैले पनि सडकपेटीमा कठ्याङ्ग्रिएर मृत्यु वरण गर्न नपरोस् भन्ने हेतुले मेची महाकाली यात्राको सुरुवात गरिएको हो । 

माघ १ गतेसम्म प्रदेश १ बाट जम्मा २५४ जना मध्ये ५५ महिला, १७९ पुरुष, २० बालबालिका को उद्धार भएको छ । यस्तै प्रदेश नं २ मा जम्मा ९४ जना मध्ये २७ महिला र ६७ पुरुष, बागमती प्रदेशको हेटौंडा र चितवनमा ३ महिला र ९ पुरुष गरि १२ जना, गण्डकी प्रदेशमा २७ महिला ७१ पुरुष र १० बालबालिका गरि १०८ जना, लुम्बिनी प्रदेशमा १५ महिला, ३६ पुरुष र ९ बालबालिका गरि जम्मा ६० जनाको उद्धार भएको छ । 

सहयोगापेक्षी सडकआश्रित मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत देशभरिबाट बढीमा ४०० जनाको उद्धार गर्ने लक्ष्य लिइएको भएपनि कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सेवा अगावै लक्ष्य भन्दा धेरै उद्धार भएको छ ।

कर्णाली प्रदेशको भव्य स्वागत

सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम मेची महाकाली यात्रा अन्तर्गत लुम्बिनी प्रदेशको सेवा सम्पन्न गरि कर्णाली प्रदेशमा प्रवेश गरेको यात्रीहरुको टिमलाई मानवसेवा आश्रम कर्णाली प्रदेश, बीरेन्द्रनगर, सुर्खेत शाखाले कर्णाली प्रदेशको प्रवेशद्वारमा नै स्वागत गरेको छ । सोही अवसर र सहयोगापेक्षी सडकमानवमुक्त कर्णाली प्रदेश घोषणा गरिएको वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश लेखिएको बोर्ड समेत अनावरण गरिएको छ । कर्णाली प्रदेश २०७६ साल माघ ४ गते सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश घोषणा गरिएको हो ।

यस्तै कर्णाली प्रदेश, सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिकाका उपमेयर तथा सिङ्गो नगरपालिका परिवारले छिन्चु बजारमा स्वागत गर्नुभयो भने आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट साथ, सहयोग गर्दै आउनुभएका अभिभावकज्यूहरुले आश्रम परिसरमा भव्य स्वागत गर्दा आश्रमको गरिमा बढाईरहनुभएका राष्ट्रिय देउडा गायक पाण्डव बिष्टले साँझलाई सांगीतिक बनाउनुभयो ।