प्रथम महिला राधिका शाक्यज्युद्वारा मेची काली अभियानका अभियान्तालाई काठमाडौंमा स्वागत


सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा)का यात्रीहरुलाई मानवसेवा आश्रमकी संरक्षक एवं प्रथम महिला राधिका शाक्यज्युले काठमाडौंमा स्वागत गर्नुभएको छ । उहाँले पुर्व मेचिदेखी महाकाली सम्मको यात्रा सफलतापुर्वक सम्पन्न गरी काठमाडौं आईपुगेका ४० जना यात्रीहरुलाई मानवसेवा आश्रम र नागार्जुन नगरपालिकाले संयुक्तरुपमा नागार्जुनको रानिवनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई स्वागत गर्नु भएको हो । 

स्वागतको क्रममा देशकी प्रथम महिला एवं मानवसेवा आश्रमकी संरक्षक राधिका शाक्यज्युले मनमा अनेकौ सेवाको चाहाना हुँदाहुँदै पनि सोचेजस्तो सेवा हुन नसकिरहेको अवस्थामा मानवसेवा आश्रम पुगेपछि आफू र प्रधानमन्त्रीको समेत सपना पुरा भएको बताउँनुभएको छ। विगत दुई बर्षदेखी निरन्तर सेवालाई नजिकबाट नियाँलिरहेको बताउँदै सेवामा कुनै स्वार्थ नदेखिएकोले खुलेर सेहयोग गर्न मन लागेको उहाँले बताउनु भएको छ । 


यस मानवीय सेवालाई अघि बढाउँदै जाने क्रममा कयौं चुनौतिहरु खडा भईरहेका हुन्छन्, कति हामीलाई भन्नुहोला, कति आफै सामना गर्नुहोला तर हामी सबैको सहयोगले ती चुनौतिहरुलाई परास्त गर्न मानवसेवा आश्रमका अभियान्ताहरु सफल हुने विश्वास राख्दै प्रथम महिला शाक्यले आफ्नो अन्तिम स्वास रहदासम्म यस अभियानलाई सफल पार्न सकेको योगदान गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


पौष ७ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु र प्रथम महिला राधिका शाक्यज्युले प्रधानमन्त्री निववास बालुटारबाट यात्राको समुद्घाटन गरी यात्रीहरुलाई विदाई गर्नुभएको थियो ।

 
स्वस्फूर्तरुपमा सहयोग पु¥याउँदै आईरहनुभएकी प्रथम महिलाको सहयोगी भावना, उदारता र अभिभावकत्वबाट प्रभावित भई आश्रमका अभियान्ताहरुले उहाँलाई आमा भनेर सम्बोधन गर्ने गरेका आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । 
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युले आफू निर्वाचित भएलगतै मानवसेवा आश्रमको अवलोकनमा पुगेको क्षणलाई स्मरण गर्दै भन्नुभयो, आश्रमले सामाखुशीमा सेवा सञ्चालन भइरहेको घरको घरभाडा तिरिदिनुस भन्नु भएको थियो । उहाँहरुको सेवा र सेवा भावलाई देखेपछि हामीले नै प्रस्ताव राख्यो हामीसँग सहकार्य गर्ने भएपछि सेवालाई विस्तार गर्नुस्, अर्कोपनि घर खोेज्नुस महानगरपालिकाले घरभाडा तिर्छ ।सरकार आफैले मात्र काम गर्दा त्यसको प्रभावकारीता कम हुने, सेवा गर्ने भावना भएका कर्मचारीहरु नपाईने, खर्च धेरै हुने जस्ता समस्या आउनेभएकोले मानवसेवा आश्रम सँगको सहकार्य नै उपयुक्त हुने निर्णय काठमाडौं महानगरपालिकाले गरेको मेयर विद्या सुन्दर शाक्यले बताउनुभएको छ। 

महानगरपालिकाले यस अघिपनि उद्धार बाहान खरिदको लागि १६ लाख रुपैया योगदान गरेको थियो भने तारकेश्वर नगरपालिका पाँचमानेमा मानवसेवा आश्रमको भवननिर्माण गरिदिने कार्यको सुरुवात गरिसकेको छ । 
कार्यक्रममा बोल्नुहुँदै माननीय शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरज्युले मानवसेवाको लागि आफू सदैब तत्पर रहेको बताउनुभएको छ । अघिल्लो जन्ममा गरेको पुण्ये (असल कर्म)को प्रतापले यस्तो अवसर मिलेको भन्दै सबै अभियान्ताहरुलाई शुभ भावना समेत राख्नुभएको छ । 

कार्यक्रममा शशस्त्र प्रहरी दिवशको अवसरमा शशस्त्र प्रहरी परिवारको तर्फबाट आश्रमलाई खाद्यन्न तथा न्यानो कपडा सहयोग हस्तान्तरण गर्नुभएको छ । शशस्त्र प्रहरी महानिरिक्षक सैलेन्द्र खनालज्यु ज्यु र शशस्त्र प्रहरी महिला परिवार संघकी अध्यक्ष सरिता खनाल कंडेलज्युले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै प्रहरी महानिरिक्षक शैलेन्द्र खनालज्युले आफू सदैव यस मानवीय सेवामा सँगै रहने बताउनुभएको छ । 

मानवसेवा आश्रमको नयाँ शाखा रानिवनमा सुभारम्भ हुनलागेको प्रति खुशी व्यक्त गर्दै नागार्जुन नगरपालिकाको प्रमुख मोहन बस्नेतज्युले मानवसेवा आश्रमलाई नागार्जुन नगरक्षेत्रभित्र न्यानो स्वागत गर्ने बताउनुभएको छ । मानवीय सेवालाई उच्च सम्मान गर्दै, संघिय सरकारसँगको सहकार्यमा सेवाको लागि भवन र सेवाको लागि बार्षिक २० लाख रुपैया उपलब्ध गराउने मेयर मोहन बस्नेतज्युले प्रतिज्ञा गर्नुभएको छ । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाज्यु, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीज्यु, नागार्जुन नगरपालिकाका कार्यवाहक वडा अध्यक्ष जुनुम लामाज्यु र रानिवन उपभोक्ता समितिका अध्यक्ष शिव सिंखडाज्युले बोल्नुभएको थियो । 

नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतज्यूको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रथम महिला एवं राधिका शाक्यज्युले ग्रहण गर्नुभएको थियो भने आश्रमका संरक्षक डा. गोविन्द टण्डनज्यु र केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्युले अभियानलाई प्रतक्ष्य र परोक्षरुपमा सहयोग पु¥याउने सबैलाई धन्यबाद गर्नुभएको छ । 

मेची महाकाली अभियानको क्रममा हालसम्म ५४२ जना सहयोगापेक्षी सडकमानवहरुको उद्धार गरिएको छ भने काठमाडौं आइपुगेका यात्रीहरु आजनै बाग्मति प्रदेशका पाहाडी जिल्लाहरु उाद्धारको लागि जानुभएको छ । आश्रमको जिल्ला शाखाहरुले पनि यात्रा बाहेकका समयमा समेत उद्धार गरिरहेको हुँदा पौष महिनामा मात्रै उद्धार गरिएका सहयोगापेक्षीहरुको संख्या ६०० पुगेको छ । 

आजनै मानवसेवा आश्रमका केन्द्रीय उपाअध्यक्ष धर्म प्रसाद पौडेलज्युको नेतृत्वमा १८ जना यात्रीहरु धाधिङ, नुवाकोट र रसुवा पुग्नुभएको छ भने कोषाअध्यक्ष होमनाथ तिमल्सिनाज्युको नेतृत्वमा २० जना यात्रीहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्दुलिगढी जानुभएको छ । आजमात्रै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र नुवाकोटबाट १८ जनाको उद्धार भएको छ । 

माघ १६ गते शुक्रबार राष्ट्रिय सभागृहमा मेची महाकाली अभियानको समापन गर्ने तयारी रहेको छ ।