पोखरामा बन्दै यस्तो मानवीयताको स्मारक, विश्वकै लागि अध्ययन केन्द्र बनाइने (भिडीयो सहित)


(गुरूयोजनालाई थप सुदृढ बनाउन गृहकार्य भैरहेको छ ।)

पोखरामा बन्दै यस्तो मानवीयताको स्मारक, विश्वकै लागि अध्ययन केन्द्र बनाइने

मानवसेवा आश्रमले पोखराको हेम्जामा मानवीयताको स्मारक बनाउने भएको छ । आश्रमले निर्माण गर्न लागेको उक्त स्मारकमा ४०० जना बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरूले सहारा पाउने छन् भने परिवार र पैसा हुँदाहुँदैपनि बुढेसकालमा एक्लिएका ५० जेष्ठ नागरिकहरुलाई समेत संरक्षण दिइने छ । 


६४ रोपनी जग्गाभित्र रहने यस मानवीयताको स्मारक भित्र मानवसेवा आश्रमको भवन, संग्राहलय, पोखरी, मानवता प्रवद्र्धनका लागि तालिम केन्द्र, अतिथि गृह, पुर्वीय दर्शन अध्ययन अनुसन्धान केन्द्र, प्राकृतीक चिकित्सालय तथा उद्यमशाला समेत रहने छ। 
मानवसेवा आश्रमले हाल स्मारकको गुरूयोजना तयार निर्माण गरिरहेको छ । केही दिन भित्रै गुरूयोजना निर्माण कार्य सम्पन्न गरि शिलन्यास गर्ने योजना संस्थाको रहेको छ। 


करिब एक अर्ब रुपैया अनुमानित लागत रहने यस भवन मानवता, परोपकार, सहिष्णुता र पुर्वीय दर्शनको अध्ययन गर्न चहानेहरुको लागि उपयुक्त थलो बन्ने र देशको आन्तरिक तथा वाह्य पर्यटन विकासमा समेत ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

 

परिवार र पैसा भएका र बुढेसकालमा एक्लिएका बृद्धबृद्धाहरुको लागि भने स्मारकभित्र भित्रै छुट्टै व्यवस्था मिलाइने छ । यसरी स्मारकमा रहने जेष्ठ नागरिकले आफु सहित अर्को एकजना बेसहाराको अभिभावकत्व​ लिनुपर्ने गरि व्यवस्था मिलाइने छ । 

विश्वमा अहिंसा र परोपकारको संदेश छर्ने भगवान बुद्धको देश नेपाल भनेर गर्व गरेर मात्र हुँदैन ।  भगवान बुद्धको संदेश लाई व्यवहारमा उतार्न पनि सक्नुपर्ने भन्दै यस स्मारक बने समग्र देशको पहिचानलाई थप उचो बनाउन महत्वपुर्ण आधार तय हुने मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी बताउछन् । 

नेपाल सरकार र नेपाली परोपकारी मनहरुको साथ र सहयोगबाट बन्ने यस भवन निर्माण कार्यलाई आगामी ५ बर्ष भित्र पुर्णता दिइनेगरि कार्य अघि बढाइने संस्थाकाका प्रमुख संरक्षक डा. गोविन्द टण्डन बताउछन् ।​


मानवसेवा आश्रमले २०८२ सालभित्र पुरै नेपाललाई नै घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेको सहयोगापेक्षी मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरि नेपाललाई मानवीयताको राष्ट्र (The Country Of Humanity, Nepal) बनाउने लक्ष्य लिएको छ । २०६९ साल भाद्र १३ बते मकवानपुरको हेटौंडाबाट सञ्चालनमा आएको यस आश्रमले हाल देशभरका ६ प्रदेशमा १४ ओटा केन्द्रहरु सञ्चालन गरि खुला आकाशमुनी रात विताउन विवश जीवन नै जोखिममा परेका बेसहारा मानवहरुलाई संरक्षण दिदै आइरहेको छ ।