कर्णाली प्रदेश सरकार र मानवसेवा आश्रमवीच सम्झौता


बेसहाराको संरक्षणका लागि कणाली प्रदेश सरकारको पहल

कर्णाली प्रदेश सरकार र मानवसेवा आश्रमवीच सम्झौता भएको छ । घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षीहरुको जीवनरक्षाको लागि आश्रम र प्रदेश सरकारवीच सहकार्यको लागि सम्झौता भएको हो ।

समाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा र मानवसेवा आश्रमवीच भएको सम्झौतामा हिंसापिडीत, बेसहारा, अलपत्र परेको बालबाललिका तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरुको जीवन रक्षाको लागि सम्झौता भएको मानवसेवा आश्रम कणाली शाखाकी प्रमुख सृजना ओलीले जानकारी दिनुभयो ।

सम्झौतामा यस आ.व.मा खर्च गर्नेगरि प्रदेश सरकारले रु. दश लाख आश्रमलाई उपलब्ध गराउने छ ।

हाल सुरखेतको सडकपेटीबाट बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरूलाई उद्धार कार्यको सुरूवात भएको भएपनि छिट्टै कर्णाली प्रदेशका रहेक जिल्लामा भएका बेसहाराहरूलाई संरक्षण दिने गरि सामाविक विकास मन्त्रालय, वीरेन्द्र नगर नगरपालिका र आश्रमको योजना रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव मान बहादुर विकेज्युले जानकारी दिनुभयो ।

२०८२ सालभित्र नेपाललाई घरबार विहिन तथा बेसहारा रहित देश बनाउने उद्देश्य सहित अघि बढीरहेको आश्रमले सातओटै प्रदेशबाट सेवा सञ्चालन गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशको सुरखेतमा माघ १९ गतेबाट सेवा सञ्चालनमा ल्याइएको हो ।

सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको अभिभावकत्वमा मानवसेवा आश्रम कर्णालीको सुरखेतमा सञ्चालनमा रहेको छ ।

स्थापनाको पहिलो महिना आश्रमले सुरखेतको विभिन्न स्थानबाट २७  जनाखुला आकाशमुनी रात विताउन विवश बेसहाराहरुलाई उद्धार गरि संरक्षण प्रदान गरिसकेको छ भने ५ जनालाई परिवार खोजी पारिवारीक पुनर्मिलन गराइएको छ ।

सामाजिक विकास मन्त्रालयले मंसिर १७ गते आयोजना खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुको जीवन रक्षाको लागि सरोकारवाला निकायहरुसँग गरेको अन्तक्रियापश्चात् अधिकांश सहभागीले कर्णाली प्रदेशमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइनुपर्ने धारणा राखेका थिए ।