मानवसेवा आश्रमको भवननिर्माणको लागि दुई करोड दश लाख एकहत्तर हजार


मानवसेवा आश्रमको भवननिर्माणको लागि दुई करोड दश लाख एकहत्तर हजार

मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माणको लागि दुई करोड दश लाख एकहत्तर हजार सहयोग संकलन भएको छ । आश्रमले फागुन १३ गतेदेखी २० गतेसम्म मकवानपुको हेटौंडामा आयोजना भएको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानबाट यस सहयोग प्राप्त भएको हो ।

अनुष्ठानमा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले दश लाख पचास हजार, समाजसेवी पुरण बहादुर जोशी एवं हेटौंडा स्कुल  अफ म्यानेजमेन्ट परिवारले दश लाख, हेटौंडा उपमहानगरपालिकाबाट दश लाख सहित २५४० जनाले सहयोग गरेका छन् । जसमध्ये रु. २२,८९,६९६ बराबरको जिन्सी सामाग्री समेत प्राप्त भएको छ ।
एसियन पेन्ट्सले निर्माणाधिन भवनको रङ लगाइदिने भएको छ भने युनिलिभिर नेपालले नौ लाख बराबरको एक हजार कार्टुन साबुन अनुष्ठानकै क्रममा हस्तान्तरण गरेको छ ।


कुनैपनि बैदेशिक दातृनिकायहरुको सर्त सहिको सहयोग नलिने प्रतिवद्धता गरेको आश्रले यस्तै किसिमको जनमन संकलन अभियानबाट मानवसेवा आश्रमको कार्यहरु सञ्चालन गरिरहेको छ ।

हेटौंडा ९ लामसुरेधापमा २०७२ सालको भुकम्पपछि मानवसेवा आश्रमले आफ्नो मुख्य कार्यालयमको भवननिर्माणको शिलन्यास गरेको थियो । ५ करोड लागत अनुमान गरिएको २ तले भवनलाई तिन तलाको बनाइने भएको छ ।

२,६०,००,०००/– सहयोग संकलन भै खर्च भैसकेको भएपनि भवननिर्माण कार्यलाई पुर्णता दिन अझै २,५०,००,००० आवश्यक भएकोले आश्रमले मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानको आयोजना गरेको थियो । सात दिनसम्म चलेको अनुष्ठानमा ३१,५४,२१९/– रुपैया खर्च भएको छ ।

भवनको निर्माण पश्चात् ३०० जना खुला आकाशमुनी रात विताउन विवश बेसहारा तथा जीवन जोखिममा रहेका सहयोगापेक्षी मानवहरुलाई आश्रमले यस भवनबाट सेवा दिने छ ।

२०८२ सालभित्र पुरै नेपाललाई नै सहयोगापेक्षी सडकमानव रहित राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य तय गरेको आश्रमको हाल १२ जिल्लामा १४ शाखाहरुबाट ६५० बढी घरबार विहिन, बेसहारा सडकमानवहरुले सेवा लिइरहेका छन् ।

हेटौंडाको भवननिर्माण सँगै चितवन, पोखरा, काठमाण्डौं र गोरखामा भवननिर्माण कार्यको सुरुवात गर्ने संस्थाको योजना रहेको छ, २०७६ भाद्र १३ गते मानवसेवा आश्रमको सातौं बार्षिकोत्सवको अवसर पारेर यस भवनमा आमाबुबाहरुलाई गृहप्रवेश गराइने मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।