प्रधानमन्त्री पत्नी राधिका शाक्य बिना खबर मानवसेवा आश्रम सामाखुशीमा



 

काठमाण्डौं । प्रधानमन्त्री के.पि.शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा ​आश्रम काठमाण्डौं शाखाको स्थलगत अवलोकन गर्नुभएको छ । सामान्य भिजिटरको भेसमा आश्रम प्रवेश गर्नुभएको शाक्यले सुरुवातमा आफ्नो बारेमा कुनैपनि जानकारी दिनुभएन । 
आश्रमको स्थलगत अवलोकन पश्चात् संस्थाको कार्यलय सचिव सविता लम्सालसँग आश्रमको बारेका केही बुझ्नुभयो । 

आश्रमको बारेमा आफुले धेरै सुनेको र आज हेर्न मन लागेकोले आफै आएको बताउनुभएकी प्रम पत्नी शाक्यले सुरुवातमा आफ्नो घर यतै सामाखुशी आसपास नै भएको बताउनुभएको थियो । 

केही थोरै सहयोग गर्ने इच्छा छ कसरी गर्ने भनेर उहाँले सोध्नुभयो, हामीले सहयोग रसिद काट्नेबेलामा नाम सोध्यौं उहाँले राधिका शाक्य भन्नुभयो, म अल्मल्लिय । त्यसपछि बल्ल उहाँले आफु प्रम ओलीको श्रीमती भएको बताउनुभयो आश्रमकी कार्यालय सचिव सविता बताउछिन् । 
भ्रमणको समयमा उहाँले संस्था कसरी सञ्चालन भैरहेको छ ? सरकारको सहयोग कस्तो छ ? आश्रमलाई के के सामाग्रीहरु आवश्यक छ जस्ता प्रश्नहरु सोध्नुभएको थियो । 

आश्रमको स्थलगत अवलोकन पश्चात् आफु धेरै संस्थाहरुमा गएको भएपनि मानवसेवा आश्रममा आउँदा फरक अनुभुति भएको र फेरी फेरीपनि आइरहने बताउनुयो । 

यस अघि उहाँसँग कहिलेपनि आश्रमको कुनैपनि पदाधिकारीहरुको भेट भएको छैन । राष्ट्रको त्यति ठुलो ओहोदामा रहेको व्यक्ति यसरी खबरविनै आश्रममा आउनुहुन्छ भन्ने कल्पना समेत गरेका थिएनौ । उहाँको आगमनले हामीलाई हौसला मिलेको छ, बेसहारा रहित नेपाल निर्माणको लागि यो कोसेढुंगा सावित हुनसक्छ, आश्रमका ३ नं. प्रदेश शाखा संयोजक सुमन बर्तौला बताउछन् । 

पहिलो भेटमा प्रम पत्नी राधिका शाक्यले आश्रमलाई व्यक्तिगत रुपमा पच्चीस हजार रुपैया सहयोग समेत गर्नुभएको छ ।