मानवता जागरणका लागि मानवसेवी अभियान्ता रामजी अधिकारी बागलुङमा


मानवता जागरणका लागि मानवसेवी अभियान्ता रामजी अधिकारी बागलुङमा 

नाक, कान, घाँटी, हातखुट्टा वा शरिरको विभिन्न अंगहरुको योग मात्रले मानिस मानव बन्न सक्दैन । मानव हुनका लागि उसभित्र मानवता जागेको हुनुपर्छ, र मानवता नै उसको पहिलो धर्म हो भन्ने विश्वास राख्ने मानवसेवी अभियान्ता रामजी अधिकारी यतिखेर बागलुङको विभिन्न स्थानमा पुगेर मानवता जगाउन उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

उहाँ मानवसेवा आश्रमको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । हरेक मानवभित्र रहेको मानवतालाई जगाई उनीहरुमा सामाजिक भावनाको विकास गराउन यतिखेर उनको मुख्य ध्यय बनेको छ । 

हरेक महिना एकहजार बढीको बीचमा पुगेर मानवता, परोपकार र राष्ट्रप्रेम बारेमा उत्प्रेरणात्मक तथा जीवनरुपान्तरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले यतिखेर बागलुङ जिल्लालाई केन्द्रविन्दु बनाएर कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । 

चैत्र २३ गते बागलुङ पुग्नुभएका मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले २३ गते नै बुर्तिवाङ बजार र खरवाङ बजारमा आयोजित दुईओटा कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ । त्यस्तै २४ गते गलकोट र काठेखोला विउँमा दुईओटा कार्यक्रमको सहजीकरण गर्नुभएको छ । कार्यक्रममा स्थानिय जनप्रतिनीधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

आज विहान बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा संघका पदाधिकारीहरुको लागि कार्यक्रम हुने छ भने आज नै बागलुलको एकओटा विद्याालयमा विद्याथीहरुको माझमा एक कार्यक्रम सकेर तेस्रो चरणको कार्यक्रम उद्योग बाणिज्य संघकै सभाहलमा १०० बढी बागलुङवासीहरुको माझमा उत्प्रेरणात्मक कार्यक्रम हुनेछ । हरेकदिन दुई देखी ३ ओटा कार्यक्रमहरु भइरहेको मानवसेवा आश्रम बागलुङ शाखाका अभिभावक शिव खड्का बताउनुहुन्छ । 

मानवसेवा आश्रमको सहजीकरण एवं प्रविधिक सहयोगमा सि.वाई.सी. बागलुङले कार्यक्रमको आयोजना गरिरहेको छ । 

हरेकदिन करिब ५०० जनाको उपस्थितीमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा अधिकांश सहभागीहरुले केही न केही सहयोग मानवसेवा आश्रमको लागि गरिरहेको र धेरै मनहरु प्रत्यक्षरूपमा मानवसेवा आश्रमसँग जोडीएको कारण आगामी दिनहरुमा मानवसेवा आश्रम बागलुङ शाखाको सेवा सञ्चालनमा थप सहज हुने आश्रमकी बागलुङ शाखा संयोजक सुमिरा लामा बताउँछिन् । 

बागलुङवासी आमाबुबाहरु कार्यक्रममा अत्यन्त रामाइरहनुभएको र त्यसले आफुलाई पनि उर्जा मिलेको साथै समाजको सकारात्मक रुपान्तरणमा आफुले केही योगदान पु¥याउन सकेकोमा सन्तोष मिलेको अभियान्ता अधिकारी बताउनुहुन्छ ।