डोटीमा फेला परेकी वेवारिस मनोरोगी महिलालाई मानवसेवा आश्रमको संरक्षण : प्रदेश शाखा कैलाली


डोटी सडकपेटीमा वेवारिसे अवस्थामा फेला परेकी मनोरोगी महिलालाई मानवसेवा आश्रमले संरक्षण दिएको छ।  उनलाई मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखा कैलालीले संरक्षण दिएको हो । डोटी प्रहरीले बैशाख ११ गते गस्तीको क्रममा दिपायल सिलगुडी न.पा.–४, कुलपातेमा बेवारीसे अवस्थामा फेला पारेको थियो ।

आफ्नो नाम छायाँ सिंह बताउने मनोरोगी महिलाको हालसम्म परिवार र आफन्तबारे केही खुल्न सकेको छैन । प्रहरीले उद्धार गरि राख्ने ठाउँ नभएपछि अल्पकालिन सेफ हाउसमा पठाएको थियो । सेफ हाउसमा ३५ दिन बढी राख्न नमिल्ने भएपछि प्रहरीलाई उक्त मनोरोगी महिलाको व्यवस्थान असहज बनेको थियो ।

४४ बर्षीय छाँया सिंह  बोगटी घर कहाँ भनेर साध्दा, उ पर, तलतिर, माथि, अलि अगाडी जस्ता उत्तरहरु दिन्छिन् । श्रीमान्ले छाडेको र घर परिवार आफन्त कोहीपनि नभएको बताउने छायाँलाई १ महिनादेखी डोटीमा वेवारीसे अवस्थामा देखिने गरेकी स्थानियहरु बताउछन् ।

महिला दिदीबहिनीहरुलाई यसरी घरपरिवार विहिन भई सडकमा रहनुपर्ने स्थिती अत्यन्तै कहालीलाग्दो हुने र उनीहरु अत्यन्तै जोखिममा रहने भएकोले छाँया जस्ता मनोरोगीहरुको तत्काल उद्धार हुनुपर्ने आश्रमकी सु.प.प्रदेश संयोजक सृजना ओली बताउछिन् । उनका अनुसार यसरी मनोरोगी भएर खुला आकाशमुनी रात विताउन विवश मनोरोगी महिलाहरु नेपालभर हेर्ने भने हजारौको संख्यामा रहेको उनीहरु बताउछन् ।

एक्लै बरबराउने, मनपरी बोल्न, रिसाउने, कुटपिट गर्न खोज्ने जस्ता स्वभावहरु रहेकी मनोरोगी छाँयालाई डोटी प्रहरीले बैशाख २० गते मानवसेवा आश्रम कैलालीमा ल्याइदिएको हो ।  छायाँ सहित मानवसेवा आश्रम कैलाली शाखामा सेवा लिनेको संख्या १९ पुगेको छ।

२०८२ सालभित्र घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरु रहित देश नेपाल निर्माण गर्ने अभिष्टानुसार सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको हो ।
सुदुरपश्चिम सहित ६ प्रदेशभित्र हाल मानवसेवा आश्रमको १४ ओटा शाखाका करिब ८०० जना बेसहाराहरुले आश्रय लिइरहेका छन् ।