बाँख्रा बाध्ने खोरबाट ११ बर्षिय मन्दिपको उद्धार, मानवसेवाले दियो संरक्षण


बुबाले नयाँ आमा पाए, आमाले नयाँ बुबा तर पाएनन् मन्दिपले बाआमा
श्रीमान श्रीमतिको पारपाचुके भयो । छोरा मन्दिपको पालनपोषण आमाले गर्नेगरी गरी मुद्दा छिनोफानो लाग्यो । जन्मदै बौद्धिक अपाङ्गता भएका मन्दिपको अगाडी आमाको मातृवात्सल्यतापनि टिकेन अन्ततः मन्दिपको आमाले दोस्रो विवाह गरिन । मन्दिपको बुबाले पनि अर्कै श्रीमती ल्याए । 

बुबाले नयाँ आमा पाए, आमाले नयाँ बाबा पाए तर मन्दिपले भने नयाँ आमा बाबा पाएनन् । शारिरीक रुपमा स्वस्थ र राम्रो भएकै कारण मन्दिपको दाई मनोजलाई उनका काकाले हेरीदिएको भएपनि मन्दिपको भने अवस्था कहालीलाग्दो नै थियो । 

अन्तमाः हजुरबा हजुरआमाले बच्चालाई हेर्न प्रयत्न त गरे तर यो उनीहरुको सामर्थ भित्रको कुरा थिएन, त्यसैले मन्दिपले बाख्रा बाँध्ने खोरमा थुनिनु पर्यो ।

शरिरले काम गर्न छाडीसक्यो, आम्दानीको कुनै स्रोत छैन, सकेपनि नसकेपनि अरुको माटो खेस्र्रेर जीवन विहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ, दिनभरी नातिलाई हेरेर बस्न सक्ने अवस्था छैन । नातिको माया नभएको होइन, मायाले मात्र केही नलाग्दो रहेछ, गहभरी आँसु पार्दै मन्दिपका हजुरबुबा गिता बल्लल भकानिए । उनीहरुले विगत ४ महिना देखि मन्दिपलाई बाख्रा बाँध्ने खोरमा राख्दै आइरहेका थिए । 

जस्ताले छाएका करिब ५ फिटे अस्थाइ टहरेमा बाँसको खोर बनाइ मन्दिपलाई थुन्ने गरिएको थियो । यो घटना तारकेश्वर नगरपालिका १० नं. वडा, हिलेको हो । 

मन्दिपका लागि आमाबाबा त बैरि बने नै उनको दुवैकानले पनि सुन्दैन । धेरथोर आँखा देख्ने मन्दिप आफ्नो शरिर आफै राम्रोसँग थाम्न सक्दैन् । उनलाई औला चुस्ने बानि लागेको छ । सदै औंला चुस्ने गरेकोले दुईओटा औलाको छाला अत्यन्त कमजोर देखिन्छन् । 

घरमा एक्लै छाडेर काम गर्न गए कहाँबाट लड्ने हो, कसको घरमा गएर के विगार गरिदिने हो भन्ने डर हुन्छ, केहिदिन अघि कसो इनारमा खसेन, हामीलाई मर्नु न बाँच्नु भएको छ, हजुरबुबा थपे । 

मानवसेवाले गर्यो  उद्धार
मन्दिपको बारेमा जानकार स्थानिय राजेश खकुरेलले रातोपाटीलाई खबर गरे । रातोपाटीका रिपोटर सुजन पन्तले मन्दिपको कहालीलाग्दो अवस्थालाई बाहिर ल्याए । 

अधिवक्ता राजु थापाले उक्त समाचार पढेपछि मानवसेवा आश्रमलाई खबर गरे । आज विहान रातोपाटीका पत्रकार राजकुमार सिग्देल, सुजन पन्त, अधिवक्ता राजु थापा, स्थानिय वडा अध्यक्ष अमृत थापा लगाएतको उपस्थितीमा मानवसेवा आश्रमले बाबु मन्दिपको उद्धार गरेको छ । 

हाल मन्दिपलाई मानवसेवा आश्रमको सामाखुशी शाखामा राखिएको छ । आजबाटै स्वास्थ्य परिक्षण गराई उपचार सुरुवात गरिने मानवसेवा आश्रमका ३ नं. प्रदेश संयोजक सुमन बर्तौलाले बताए । 

के हो मानवसेवा आश्रम ?
२०८२ सालभित्र कोहीपनि मानिस खुला आकाशमुनी कष्टपुर्ण जीवनपायन गर्न विवश बेवारिसे मानवहरु तथा विभिन्न कारणहरुबाट परिवारको सामर्थभित्र नरहि बाँधेर, थुनेर वा अमानवीय तरिकाबाट राखिएका मानवहरु रहित राष्ट्र नेपाल निर्माणको उद्देश्य सहित नेपालबाटै सुभारम्भ भएको सामाजिक संस्था मानवसेवा आश्रमले हालसम्म १८०० बढी घरबार विहिन, बेसहारा तथा असहाय मानवहरुलाई सेवा दिइसकेको छ भने ६ प्रदेशको १२ ओटा जिल्लामा १४ स्थानमा यसका शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ ।

 मानवसेवा आश्रमले २०६९ भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट यस मानवीय सेवा सुभारम्भ गरेको थियो ।