२५ बर्षपछि सांलोमुक्त बने मेघबहादुर: मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले दियो संरक्षण


प्युठान मल्लरानी गाउँपालिका–१, चुजा लुक्लाका ४१ बर्षिय मेघबहादुर केसी २५ बर्षपछि साङ्लो मुक्त भएका छन् । मनोरोगको सिकार भएपछि उनी २५ बर्षदेखी सांलोमा बाधिन परेको थियो ।


कान्तिपुर दैनिकमा २५ बर्षदेखी साङ्लोमा भन्ने शिर्षक मार्फत मेघराजको कहालीलाग्दो जीवन बाहिर आएपछि मानवसेवा आश्रमले उद्धारको लागि पहल थालेको थियो । निरन्तरको प्रयासपछि स्थानिय गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य चौकी प्रमुख तिलक राम जैसी, पत्रकार नमराज पौडेल र मेघराजको बुबा डोर बहादुर केसीले उनलाई मानवसेवा आश्रम ५ नं. प्रदेश शाखा रुपन्देहीमा ल्याइदिएका थिए ।


मेघबहादुरलाई चिकित्सकको सल्लाह अनुसार औषधी चलाइएको छ । सुधार पश्चिात् उनलाई पुन परिवारमा पुनर्मिलन गराइने संस्थाकी महासचिव तथा ५ नं. प्रदेश संयोजक रुपा केसी (शुशिला) बताउनुहुन्छ ।


स्थानिय विद्यालयमा कक्षा ९ मा पढ्दापढ्दै मनोरोगी भएपछि परिवारले नै उनलाई फलामे साङ्लाले बाधेर राखेका थिए । साङ्लामा बाध्नु बाध्यता भएको मेघबहादुरका बुबा डोर बहादुर के.सी बताउछन् ।

सुरुवातमा विभिन्न स्थानमा लगेर उपचार गराएको भएपनि त्यसले केही काम नगरेपछि परिवार मेघ बहादुरलाई साङ्लाले बाध्न बाध्य भएका थिए ।
साङ्ला फुकाएपछि देखेजति मानिसलाई ढुंगाले हान्ने, होहल्ला गर्ने, घरछाडी हिड्ने जस्ता क्रियाकलाप गर्ने भएपछि उनलाई दुबै खुट्टा साङ्लाले बाँधेर राखिएको थियो । दुवै खुट्टा बाधिएका मेघबहादुर दिशापिसाव ओच्छानमै गर्दै आइरहेका थिए ।


घरबार विहिन, बेसहारा, परित्यक्त असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको साथमा परिवार हुँदाहुँदैपनि परिवारको सामर्थ नभई बर्षैदेखी बाँधेर, थुनेर वा अमानविय तरिकाले राख्दै आएमा सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि विगत २०६९ सालदेखी मानवसेवा आश्रम समर्पित हुँदै आइरहेको छ ।


हाल मानवसेवा आश्रमले ६ ओटा प्रदेशभित्र १४ ओटा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आइरहकोमा एक महिनाभित्रै एक नं. प्रदेशमा आश्रमको शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।