मानवताको संदेश लिएर मानवसेवी अभियान्ता रामजी अधिकारी बेलायत जाँदै, बेसहारा रहित नेपाल निर्माण गर्ने अभियानलाई सघाउछु– समाजसेवी सुनिल खड्का


मानवताको संदेश लिएर मानवसेवी अभियान्ता रामजी अधिकारी बेलायत जाँदै, बेसहारा रहित नेपाल निर्माण गर्ने अभियानलाई सघाउछु– समाजसेवी सुनिल खड्का

घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरु रहित नेपाल निर्माण गर्ने संकल्प लिएका मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी मानवताको संदेश लिएर बेलायत जाँदै हुनुहुन्छ ।
 
यसपालिको बेलायत यात्राको क्रममा उहाँले बेलायतबासी नेपालीहरुको माझमा मानवता प्रवद्र्धन, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन लगायतका विषयहरुमा विभिन्न स्थानमा आयोजना हुने उत्प्रेरणात्मक एवं जीवनरुपान्तरण कार्यक्रमहरुको सहजीकरण गर्नुहुने बताइएको छ ।

यस्तै कार्यक्रमको क्रममा उहाँले मान्छेकै भेषमा जन्मिएर पनि सामान्य मानिसको सरह जीवनयापन गर्न नपाइरहेका घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका शारिरीक तथा मानसिक रुपमा अशक्त सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि बेलायतवासी नेपाली मनहरुलाई सहकार्यको लागि आह्वान गर्नुहुने छ ।
 
मानवसेवा आश्रम हालसम्म कुनैपनि वैदेशिक दातृ निकायहरुको सहयोग नलिई देश विदेशमा छरिएर रहेका नेपाली परोपकारी मनहरुकै साथ र सहयोगबाट सञ्चालन हुँदै आइरहेको छ । नेपालको सडकपेटीमा अलपत्र परेका आमाबाबाको जीवन रक्षाको लागि वैदेशिक दातृ निकायको सर्त सहितको सहयोग स्वीकार नगर्ने आश्रमको आदर्श रहेको छ । 
नेपालमा विभिन्न समयमा मानवसेवा आश्रमको सेवालाई सहयोग गर्दै आश्रमको अभिभावकत्व निर्भाह गर्दै आइरहनुभएका परोपकारी व्यक्तित्व श्री सुनिल खड्काज्युको निमन्त्रणामा उहाँ बेलायत जान लाग्नुभएको हो ।
 
केही समय अघि मात्र नेपाल आएका बेला उहाँले आश्रमलाई तिन लाख पचास हजार रुपैयाँ सहयोग समेत गर्नुभएको थियो ।
आश्रमलाई सहयोग गर्न आएको बखत उहाँले मानवसेवा आश्रमको सेवाबाट प्रभावित भई नेपालाई बेसहारा रहित बनाउन आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग गर्ने वचन दिनुभएको थियो ।
मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यु अगस्ट ६ तारिकमा नेपालबाट बेलायतका लागि उड्नुहुनेछ भने  अगस्ट १७ तारिकका दिन उहाँ नेपाल फर्किनुहुने छ।

११ अगस्टको दिन बेलायत स्थित नेपाली समुदायको बीचमा मानवसेवा आश्रमका अभिभावक सुनिल खड्काज्युको संयोजकत्वमा "A Talk Show With RAMJI ADHIKARI"  कार्यक्रमको आयोजना हुनेछ । यस कार्यक्रममा कुनै प्रवेश शुल्क लाग्ने छैन । कार्यक्रम बारे थप जानकारीको लागि कार्यक्रम संयोजक तथा आश्रमका अभिभावक सुनिल खड्काज्युलाई ०७७ ८६९ १३४८९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
मानवसेवा आश्रमका परिकल्पनाका तथा संस्थापक रामजी अधिकारी जीवन प्रशिक्षक (Life Coach
) समेत हुनुहुन्छ । करिब चार लाख भन्दा बढीले उहाँको प्रत्यक्ष लाभ लिइसकेका छन्।
उहाँ २०६४ सालदेखि नै निरन्तर हरेक दिन जसो कुनै न कुनै उत्प्रेरणात्मक कार्यक्रमहरुलाई सहजीकरण गर्दै आइरहनुभएको छ ।

उहाँले भोको पेटलाई भोजन, नाङ्गो शरीरलाई कपडा अनि निरास भएका अनुहारमा आशा जगाउनु नै आफ्नो जीवनको प्रमुख ध्येय बनाएका छन् । उहाँकै उत्प्रेरणाको कारण हाल १०० बढी युवाहरु मानवसेवा आश्रममा २४/७ नै स्वयंसेवकको रुपमा समर्पित छन् । उनीहरु सबैको एकमात्र उद्देश्य अहिले ‘मानवीयताको राष्ट्र नेपाल’ निर्माण गर्ने रहेको छ ।