Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

पाल्पाको सिद्धबाबा मन्दिर परिषरमा अब कोही बेसहारा हुनु नपर्ने, यसरी भयो घोषणा


५ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा आज तिनाउ–३, पाल्पामा रहेको सिद्धबाबा मन्दिर सहयोगापेक्षी बेसहारा रहित क्षेत्र घोषणा भएको छ । ५ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालज्युले आज यस्तो घोषणा गर्नु भएको हो ।  मन्दिर क्षेत्र बेसहारा रहित क्षेत्र घोषणा गराउन प्रदेश सरकारलाई मानवसेवा आश्रम, सिद्धबाबा मन्दिर विकास समिति र सिद्धबाबा धामले सघाएको छ । यस घोषणा पश्चात् मन्दिर क्षेत्रमा बाध्यता वा विवशताले माग्न बसेका वास्तविक सहयोगापेक्षीलाई मानवसेवा आश्रमले संरक्षण दिने छ ।


सिद्धबाबा मन्दिर क्षेत्रमा रहेका १८ जना बेसहारा मध्ये ७ जनालाई आज नै मानवसेवा आश्रमले संरक्षण दिएको छ भने बाँकी ११ जना घर फर्किएका छन् । घर परिवार भएरपनि माग्न बसेका पेशेवर मगन्तेहरूलाई कर्मशील बनाउन यस घोषणाले प्रेरित गरेको छ ।
५ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५ नं. प्रदेशलाई नै बेसहारा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने निति लिएको छ । सोहि अनुसार आज सिद्धबाबा मन्दिर क्षेत्रलाई बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त मन्दिर घोषणा गरी मन्दिर क्षेत्रभित्र बसेर माग्न निषेध गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्यज्युहरू, स्थानिय जनप्रतिनिधिज्युहरु, मन्त्रालयका सचिव तथा शाखा प्रमुखज्युहरु, मानवसेवा आश्रमका अभिभावकज्युहरुको विशेष उपस्थिति रहेको थियो ।


प्रदेशभित्र रहेका वास्तविक अभिभावक विहिन बेसहारा सहयोगापेक्षी सडकमानवहरूलाई उद्धार गरी संरक्षण दिने तथा बरालिएर वा पेशा बनाई माग्न बसेकाहरूलाई घर फर्काउने गरी यस नितिको कार्यान्वयन गरिने योजना मन्त्रालयको रहेको छ ।


मानवसेवा आश्रमले २०८२ साल सम्म नेपालाई अभिभावक विहिन सहयोगापेक्षी सडकमानव रहित राष्ट्र नेपाल निर्माण गर्ने साझा लक्ष्य अघि सारी (मानवता प्रवद्र्धन महाअभियान)को सञ्चालन गरिरहेको छ । हाल पाँच नं. प्रदेशको बुटवलमा मात्र मानवसेवा आश्रमको दुई ओटा केन्द्रहरु सञ्चालनमा रहेको छ । धेरै काम भइसकेकोले अव केही समयभित्रै रुपन्देही जिल्लालाई नै अभिभावक विहिन बेसहारा सहयोगापेक्षी सडकमानव रहित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक रूपा के.सी. बताउनुहुन्छ ।