अव नेपालको सडकपेटी र सार्वजनिक स्थलहरुमा कसैलेपनि भोकै र नाङ्गै रहनु नपर्ने ।


संविधानले हरेक नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारको प्रत्याभुति गराएको भएपनि त्यसको व्यवहारीक रुपमा सबैले उपभोग गर्न नपाइरहेको सन्दर्भमा एक आसलाग्दो अभियानको सुभारम्भ भएको छ । नेपालको सडकपेटी र सार्वजनिकस्थलहरुमा कसैलेपनि भौकै, नाङ्गै रहनु नपर्ने अवस्था सृजना गर्न भइरहेको प्रयासलाई यसको एक उदाहरणको रुपमा लिन सकिन्छ । 


यसै अभियान स्वरुप यतिखेर काठमाडौं महानगरपालिकाले कोही भोकै पर्दैनन्, भोकले कोही मर्र्दैनन् भन्ने नारासहित खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षीहरुको उद्धार अभियानलाई तिब्र बनाएको छ । महानगरपालिकाले आफ्नो २५ औ स्थापना दिवशको अवसरमा यो अभियानको सुभारम्भ गरेको थियो । यस अभियानलाई मानवसेवा आश्रम र नेपाल प्रहरीले प्रतक्षरुपमा सघाइरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महिला बालबालिका तथा जष्ठ नागरिक मन्त्रालयको समेत यस अभियानमा सहभागीता रहेको छ ।  


यस अभियान अन्तर्गत हालसम्म ५५० जनालाई काठमाडौंको विभिन्न सडकपेटी र सार्वजनिकस्थलहरुबाट उद्धार गरी बालाजु स्थित स्क्रिनिङ सेन्टरमा राखिएको छ । हालसम्म उद्धार गरीएका मध्ये ४७२ जना पुरुष ७८ जना महिला रहेका छन् । ३९६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । 


हाल उद्धार गरीएकामध्ये बास्तविक बेसहारा सहयोगापेक्षीहरुलाई मानवसेवा आश्रममा पठाइएको छ भने विरामी अवस्थामा उद्धार गरीएकाहरुलाई अस्पतालमा राखेर उपचार गराइराखिएको छ । 


वास्तविक बेसहारा, सहयोगापेक्षी मानवहरुको पहिचान गरी उनीहरुको जीवनरक्षा गर्न तथा बरालिएर वा अन्य विभिन्न कारणहरुबाट सडकमै अस्तव्यस्त जीवनयापन गर्नेहरुलाई निरुत्साहित गर्न स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । 


उद्धार गरिएकामध्ये हालसम्म ४५ जना बढीलाई अस्पतालमा पठाइ उपचार गराइएको छ भने स्क्रिनिङ सेन्टरमै मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट नियमित स्वास्थ्य परिक्षण भइरहेको छ । काठमाडौं महानगरपालिकाले २ जना स्वास्थ्यकर्मी स्क्रिनिङ सेन्टरमै खटाएको छ। 


मकवानपुर जिल्ला २०७५ फागुन ४ गते देशकै पहिलो बेसहारा सहयोगापेक्षी सडकमानव रहित घोषणा भइसकेको छ । भरतपुर महानगरले २०७६ कात्र्तिक ९ गते भरतपुर महानगर क्षेत्रलाई घोषणा गराएको थियो भने यहि पुष ५ गते बुटवल उपमहानगरपालिका घोषणा भएको छ । कर्णाली प्रदेकोे पुष १० गते बसेको प्रदेश परिषदले यस अभियानको सुभारम्भ गरेको छ भने माघ ४ गतेसम्म सिंङ्गो कर्णाली प्रदेशमा कोहीपनि नागरिक भोकै र नाङ्गै रहनु नपर्ने प्रदेशको रुपमा घोषणा गर्ने कर्णाली प्रदेश सरकारले जनाएको छ। विराटनगर महानगरपालिका र सिंगो १ नं. प्रदेशमा पनि यो अभियान सुभारम्भ भएको छ । गण्डकी प्रदेश र ३ नं. प्रदेशले पनि घोषणाको तयारी गरिरहेको छ । 


यी सबै घोषणाहरुमा मानवसेवा आश्रम प्रतक्षरुपमा सहभागी भएको छ । २०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुभारम्भ गरेको आश्रमले यस सेवालाई देशव्यापी बनाइसकेको छ । २०८२ सालसम्म नेपाललाई सहयोगापेक्षी सडकमानव मुक्त घोषणा गराउने लक्ष्य राखेको आश्रम सरकारको समेत साथ पाएपछि आगामी दुई बर्ष भित्रमै नेपाललाई सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र घोषणा गराउन हौसिएको छ । 


हाल देशभर सातओटै प्रदेशका विभिन्न १४ जिल्लामा १७ ओटा केन्द्रहरु सञ्चालनमा ल्याई सेवा प्रदान गरिरेहेको मानवसेवा आश्रममा ९१५ बढी खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवहरुले संरक्षण लिइरहेका छन् । करिब २३०० जना असहाय, सहयोगापेक्षी, बेसहारा सडकमानवहरुलाई उद्धार गरी सेवा प्रदान गरीएको मानवसेवा आश्रमका महासचिव शुशीला केसी बताउनुहुन्छ ।