बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र निर्माणको लागि बुटवलमा मानवता प्रवर्द्धन महायज्ञ


बेसहारा, सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माणको लागि बुटवलमा महायज्ञ लगाइने भएको छ । माघको २० गतेबाट रुपन्देहीको बुटवलमा मानवसेवा आश्रमले यस्तो महायज्ञ लगाउने तयारी गरेको हो । 


बेसहारा, सहयोगापेक्षीहरुको जीवन रक्षार्थ आश्रमको संरचनाहरुको निर्माण तथा अक्षयकोष स्थापना गर्नु यस महायज्ञको प्रमुख लक्ष्य रहने बताइएको छ । यस महायज्ञमा प्रस्तुतहुने ज्ञानले मानिसभित्र रहेको मानवता र परोपकारी भावनालाई उजागर गर्न सहयोग पुग्ने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । 


एक अन्तरक्रिया कार्याक्रम आयोजना गरी मानवसेवा आश्रम रुपन्देही शाखाका अभिभावक लोकनाथ भुषालको संयोजकत्वमा महायज्ञ आयोजक मुल समारोह समिति समेत गठन गर्ने निर्णय समेत भइसकेको आश्रमकी महासचिव शुशिला केसी रुपा बताउनुहुन्छ ।
महायज्ञका कथा वाचक भने गुरु कमल नयन गौतम रहनुहुने छ  । बुटवल पश्चात् पोखरा, चितवन, काठमाडौं लगाएत देशका विभिन्न शहरहरुमा समेत यस महायज्ञ लागाइने बताइएको छ । 


मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी, बेसहारा, अभिभावकविहिन सडकमानव मुक्त नेपाल निर्माण गर्ने लक्ष्य तय गरेको छ । यस लक्ष्य प्राप्त गर्न हाल सबैभन्दा चुनौती सिमीत स्रोत र असिमित सेवा रहेकोले यस महायज्ञ सफल भए २०७८ सालभित्र नै नेपाललाई सहयोगापेक्षी सडकमानव मुक्त देशको रुपमा घोषणा गर्न सकिने मानवसेवा आश्रमका कोषाअध्यक्ष होमनाथ तिमल्सिना बताउछन् ।