Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

कुल उद्धार : १७५० ,आश्रित : ६५० , परिवारिक पुनर्मिलन: ५७७


२०८२ सालभित्र घरबार विहिन, परित्यक्त, वेसाहारा एवं जीवन नै जोखिममा रहेका मानवहरुरहित नेपाल निर्माण गर्ने उद्देश्यले मकवानपुरको हेटौंडाबाट सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान)को  मातृत्वमा सञ्चालित यस मानवसेवा आश्रमले हाल ६ प्रदेशमा १२ जिल्लामा १४ स्थानमा आफ्नो शाखा तथा उपशाखा विस्तार गरि सेवा प्रदान गरिरहेको कुरा जानकारी गराउन पाउँदा हर्ष लागेको छ । 
२०७२ सालमा काठमाण्डौंको सडकपेटी र सार्वजनिक स्थलहरुमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको लागि मानवसेवा आश्रमको शाखा काठमाण्डौंमा विस्तार भएको थियो । 
राष्ट्रव्यापीरुपमा यस अभियानलाई अघि बढाइरहेको मानवसेवा आश्रमको स्थापना भने २०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट भएको थियो । 
मानवसेवा आश्रमको गतिविधिहरु र यसले सञ्चालन गरिरहेका सहयोगापेक्षी मानवहरुको व्यवस्थापनबारे जानकारी प्राप्त भएपछि खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको आवश्यकतालाई महशुस गरि काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यज्यूले पटक पटक मानवसेवा आश्रमको अवलोकन गरिसकेपश्चात् काठमाण्डौं महानगरपालिका र मानवसेवा आश्रमबीच सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि सहकार्यको सुरुवात भएको थियो । सम्झौता पश्चात् महानगरपालिकाले सेवालाई सहज बनाउन काठमाण्डौंको सामाखुशीमा सञ्चालनमा रहेको एक ओटा घर र सेवालाई बृहत्त बनाउन सहयोग पुगोस् भन्ने मनशायले थप एक घरको समेत घरभाडा तिरिदिनेगरी सम्झौता भएको थियो भने यथाशिघ मानवसेवा आश्रमलाई दिगो बनाउन सम्पुर्ण सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन हुनेगरि संस्थाको आफ्नै भवन निर्माण गर्न दुवै संस्थाले पहल गर्ने सम्झौतामा उल्लेख थियो । 
सोही अनुसार मानवसेवा आश्रमले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । काठमाण्डौं महानगरपालिकासँगको सहकार्यपश्चात् मानवसेवा आश्रम काठमाण्डौं शाखाले मात्र, आफु स्वयं आफ्ना लागि केही गर्न नसक्ने र पालनपोषण र हेरचााह गरिदिने समेत कोही नभएका करिब ३१६ जनालाई उद्धार गरि सेवा प्रदान गरेको छ । 
 
जसमा फलामे बाकसमा बन्दक बनाइएका बालकदेखी, शताब्दी पार गरेका बृद्धबृद्धा समेत रहेका छन् । काठमाडौंको विभिन्न स्थानमा गर्भवती अवस्थामा फेला परेका मनोरोगी महिलाहरुबाट जन्मिएका छोराछोरीहरु हाल मानवसेवा आश्रमको बालशाखा गोरखामा संरक्षित रहेका छन् । स्थानियस्तरमा आतकं नै बनेर रहेका कयौं मनोरोगीहरुको संथाले उद्धार गरि उपचार गराईरहेको छ । ट्रमा सेन्टर अगाडिबाट दुवै खुट्टा कुहीएको अवस्थामा फेला पारि उद्धार गरिएको भारतका लल्लु गौंडलार्ई सकुशल भारत मध्यप्रदेश सत्नामा रहेका उनको आफ्नै परिवारमा पारिवारीक पुनर्मिलन गराइएको छ । जसको मृत्युको खवर पाएका परिवारले लल्लुको अन्तिम संस्कार समेत गरिसकेको रहेछन्।  
हरेक हप्ताको शनिवार र मंगलबार सडैकमै पुगेर उद्धार गरिने प्रचलन स्थापित गरेको मानवसेवा आश्रमले देशभरबाट यस किसिमका १७०० जना भन्दा बढी सहयोगापेक्षी मानवहरुको उद्धार गरिसकेको छ भने करिब ५०० जनालाई पारिवारीक पुनर्मिलन गराइसकेकोे छ। 
पशुपति क्षेत्र विकास कोषले थालनी गरेको मगन्ते रहित पशुपति क्षेत्र घोषणा गर्न होस् वा प्रहरी परिषर काठमाण्डौं टेकुले सुरुवात गरेको खुला आकाशमुनी रात विताउनेहरुलाई जाडोबाट बचाउने अभियान होस् यी दुवैलाई सफल बनाउन मानवसेवा आश्रमले आफ्नो क्षेत्रबाट भरपुर मेहनत गरेको छ। 
पशुपति मन्दिर क्षेत्रबाट घोषणाको समयमा करिब ८४ जनालाई उद्धार गरेको यस आश्रमले घोषणा पश्चात्पनि ५० भन्दा बढीलाई उद्धार गरेको छ । 
हाल पशुपति क्षेत्रमा आएका जो कोही सहयोगापेक्षी मानवहरुलाई मानवसेवा आश्रममा ल्याई सेवा गरिन्छ भने बरालिएर वा पेशा बनाई परिषरमा माग्न निषेधित गरिएको छ । 
भरखरै मात्र काठमाण्डौंमा जाडोबाट बचाउन नेपाल प्रहरीले थालेको अभियानको क्रममा पनि ११० जनालाई आश्रमले संरक्षणमा लिएको छ । 
मानवसेवा आश्रमकै सक्रियताको कारण मकवानपुर जिल्लाई नै आउदो फागुन ४ गते र गोरखा जिल्लालाई चैत्र ५ गते सहयोगापेक्षी सडकमानवहरु रहित जिल्लाको रुपमा घोषणा गर्ने गरी तयारी भइरहेको छ ।  यस अघि हेटौंडा उपमहानगरपालिका ९ नं. वडा र गोरखा नगरपालिकालाई खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त नगरपालिका घोषणा गरिसकिएको छ । 
६ वटा प्रदेशमा शाखाहरु रहेको यस आश्रमले यस वर्षको अन्तिम सम्ममा शाखा विस्तार गर्न बाँकी रहेको १ नं. प्रदेशमा समेत शाखा विस्तर गरी ७ ओटै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गर्ने र आउदो बर्षदेखी घोषणाका कार्यक्रमहरुलाई व्यापक बनाउने लक्ष्य लिएको छ । 
 काठमाण्डौं महानगरपालिका र नेपाल प्रहरीको यहि किसिमको सहयोग रहने हो र भोको पेट भर्नको लागि नभई पेशा बनाएर वा बरालिएर बस्नेहरुलाई भिक्षा माग्न निषेधित ऐन १०१८ अनुसार कानुनी उपचार गर्ने हो भने आगामी ६ महिना भित्र नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त महानगरपालिका निर्माण गर्न सकिने छ तर यसको लागि करिब ३०० जनाको सेवा गर्न सकिने किसिमको भवन आगामी बर्ष सम्म बनिसक्ने गरि कार्य सुभारम्भ गर्न जरुरी छ ।  संस्थाको आफ्नै भवननिर्माण नभइन्जेल सम्मको लागि कम्तिमा १०० जनाको सेवा गर्न सकिने थप एक घर भाडामा लिएरै भनेपनि सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 
त्यस्तै मकवानपुरको हेटौंडामा सेवालाई दिर्घकालिन बनाउन ३०० जनालाई सेवा दिन सकिनेगरि संस्थाको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चितवनको भरतपुरमा स्व.भगवानदास श्रेष्ठज्यू र प्रेम कुमार श्रेष्ठज्यूद्वारा भरतपुर ३ चितवनमा ८ कठ्ठा जग्गा प्राप्त भएको छ भने कास्की पोखरामा समेत भवन निर्माणको लागि जग्गा प्राप्त भइसकेको छ । बाग्लुङ्, गोरखा र वीरगञ्जमा स्थानिय नगरपालिका मानवसेवा आश्रमको भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्न सकारात्मक रहेको छन् । 
 
काठमाण्डौमा संस्थाको भवन निर्माणको लागि काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यज्यू अत्यन्त क्रियाशिल रहनुभएको अनुभुति हामीले गरिरहेको छौं । हाल सम्भावित जग्गाको अवलोकन तथा प्राविधिकले जग्गाको गुणस्तरियता परिक्षण कार्य भइरहेको छ । 
मकवानपुरको हेटौंडामा निर्माण भइरहेको भवनको पुर्णताको लागि आगामी फागुन १३ गतेबाट मानवता प्रवद्र्धन गिता ज्ञान विज्ञान अनुष्ठान आयोजना गर्न लागिएको छ । 
मानवसेवा आश्रमको प्रस्तावलाई महशुस गरि ३ नं. प्रदेश सरकारले सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश निर्माण गर्ने निति पारित गरेको छ भने सोको कार्यान्वयनको लागि समेत मानवसेवा आश्रम र प्रदेश सरकारबीच हुने सहकार्यको ड्राफ्ट निर्माण भइरहेको छ ।  प्रदेश नं. ४, ५ र ७ अत्यन्त सकारात्मक रहेको हामीले महशुस गरेको छौं । 
हाल मानवसेवा आश्रम मकवानपुरको घरभाडा हेटौंडा उपमहानगरपालिकाले, ललितपुरको ललितपुर उपमहानगरपालिकाले, गोरखाको गोरखा नगरपालिकाले, वीरगञ्जको वीरगञ्ज उपमहानगरपालिका, बुटवलको बुटवल उपमहानगरपालिकाले तिर्दै आइरहेको छ । मानवसेवा आश्रम चितवन, पोखरा र धनगढीको घरभाडा र अन्य सम्पुर्ण व्यवस्थापन, औषधी उपचार, पालनपोषण लगाएतको खर्चहरु संस्थाले नेपाली परोपकारी मनहरुको स्वेच्छिक सहयोगबाट नै जुटाउदै आइरहेको छ । 
मानवसेवा आश्रमले कुनै पनि वैदेशिक दातृनिकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने र संस्था स्वयंले कुनैपनि वैदेशिक दातृ संस्थालाई सहयोगको लागि प्रस्ताव नगर्ने निति लिएको छ । 
नेपालको संविधानले हरेक नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । गाँस, बास र कपासको अभावको कारण कसैले पनि ज्यान गुमाउन नपर्ने व्यवस्था संविधानमा भएतापनि अधिकांश स्थानिय निकायहरुले यस किसिमका घरबार विहिन, वेसाहारा मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारे कुनै स्पष्ट  निति लिएको पाइदैन । सिफारीस बनाइदिने काम मात्र स्थानिय तहले आफ्नो जिम्मेवारी ठान्ने परम्पराको अन्त्य हुन जरुरी छ ।   
यस वर्षको जाडोमा मात्र देशभरबाट मानवसेवा आश्रमले २७८ जनालाई सडकबाट संरक्षणमा लिएको छ । यस बर्षको जाडोमा मात्र देशभरबाट मानवसेवा आश्रमले २७८ जनालाई सडकबाट संरक्षणमा लिएको छ भने मानवसेवा आश्रमले हालसम्म संरक्षण दिएको लक्ष्मीनारायण तथा बालगोपालहरुको विवरण निम्नानुसार रहेको छ । 
हाल सम्म भएका सेवा विवरण 
कुल उद्धार : १७५० जना, आश्रित : ६५० जना,  परिवारिक पुनर्मिलन: ५७७ जना,  स्वर्गीय : १९८ जना,  स्वच्छिकरुपमा आश्रम छाडेका : ३२५ जना
 
मात्र वेसाहारा मानिसको संरक्षणको लागि स्थानिय सरकारले सिफारिस मात्र नभई अभिभावकीय जिम्मेवारी पनि निर्वाह गर्न तयार हुन्छ वा यस किसिमको मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निति बनाउँछ भने मानवसेवा आश्रम जोसुकै वेसहारा मानिसको संरक्षणका लागि तयार छ । 
आश्रमले २०८२ सालभित्र नेपाललाई नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरु रहित राष्ट्र निर्माण गर्ने उद्धेश्य लिए पनि नेपाल सरकारले बजेट र स्थानको अभाव हुन नदिनेगरि एक बर्षभित्र खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिने हो भनेपनि त्यसको पुर्ण कार्यान्वयनको लागि मानवसेवा आश्रम प्रतिवद्ध रहेको छ ।
अर्कोबर्षको जाडोमा भने कसैलेपनि खुला आकाशमुनी चिसोले कठ्याङग्रीएर मर्न नदिने उद्देश्य मानवसेवा आश्रमले लिएको छ ।  
सबैको मंगल होस्, सबैको कल्याण होस्, प्राणीमात्रको हित होस्, विश्वको जय होस् । 

                             जय मानवसेवा !  जय मानवता ! !  

(सडकमानवहरुको व्यवस्थापनमा मानवका लागि भइरहेको प्रयास र भावी योजना सम्बन्धमा रिपोटर्स क्लव काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनको प्रेस विज्ञप्ती, २०७५/०९/२८ गते शनिवार)